शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा प्रतिनिधिसभा निर्वाचन : दलभित्रैको असन्तुष्टिले बढायो रोचकता

शनिवार , माघ १७, २०८२

सिन्धुली,१७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुली जिल्लामा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ठूला दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म सक्रिय बनेका छन् । मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन् ।

सिन्धुलीमा प्रतिनिधिसभा सदस्यका लागि कुल २८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये ६ जना स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा पाँच स्वतन्त्रसहित १६ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । उम्मेदवारको संख्या धेरै हुनुका साथै दलभित्रैबाट उठेका स्वतन्त्र उम्मेदवारीले निर्वाचनलाई थप चासोको विषय बनाएको छ ।

नेपाली काँग्रेसले निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो चुनावी गतिविधि औपचारिक रूपमा सुरु गरिसकेको छ । सुनकोशी गाउँपालिका–१ स्थित कुशेश्वर महादेव मन्दिरमा पुजापाठ गरी काँग्रेसले घरदैलो कार्यक्रमको सुरुवात गरेको हो । पार्टीका स्थानीय नेताका अनुसार पुजापाठपछि बिपी कोइरालाको पुख्र्यौली थलो दुम्जाबाट मतदाता भेटघाट तथा घरदैलो अभियान अघि बढाइएको छ । धार्मिक आस्थासँग जोडेर कार्यक्रम सुरु गर्नुले मतदातामाझ सकारात्मक सन्देश जाने काँग्रेसको बुझाइ छ ।

यस्तै नेकपा एमालेले पनि दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई जिताउन संगठनात्मक गतिविधि तीव्र पारेको छ । वडास्तरदेखि टोलस्तरसम्म छलफल, भेला र बैठकहरू भइरहेका छन् । पार्टीले क्षेत्रीय समन्वय समिति गठन गरी निर्वाचन परिचालन कमिटी बनाउने, प्रचार रणनीति तय गर्ने र कार्यकर्तालाई जिम्मेवारी बाँड्ने कामलाई प्राथमिकता दिएको जनाएको छ । उम्मेदवार स्वयं पनि गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टि (नेकपा)ले पनि निर्वाचन लक्षित गतिविधि बढाउँदै लगेको छ । मतदाता भेटघाट, पार्टीको आन्तरिक भेला, जनवर्गीय संगठनका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । निर्वाचन आचारसंहिताअनुसार फागुन ४ गतेपछि मात्रै खुला प्रचार प्रसार गर्न पाइने भएकाले हाल पार्टीले आन्तरिक तयारीमा जोड दिएको बताइएको छ । संगठन सुदृढीकरण र कार्यकर्ता परिचालन नै अहिलेको मुख्य एजेन्डा रहेको नेकपाका नेताहरूको भनाइ छ ।

यसपटक सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को प्रतिस्पर्धा विशेष रूपमा रोचक बनेको छ । दलका आधिकारिक उम्मेदवारविरुद्धै सोही दलका प्रभावशाली नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावी समीकरण बदलिएको छ । नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध असन्तुष्टि जनाउँदै पार्टीकै पूर्व जिल्ला उपसभापतिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीकै अर्का नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ् ।

यी स्वतन्त्र उम्मेदवारहरू पनि आफ्ना पक्षमा मत परिणाम ल्याउन सक्रिय छन् । उनीहरूले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् र आफूलाई ‘पार्टीभन्दा माथि उठेर जनताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्न खोजिरहेका छन् । दलभित्रको असन्तुष्टि, टिकट वितरणप्रति देखिएको विरोध र स्थानीय नेतृत्वको दाबीले स्वतन्त्र उम्मेदवारीलाई बल पुगेको विश्लेषण गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य साना राजनीतिक दलका उम्मेदवारहरू पनि मैदानमा उत्रिएका छन् । उनीहरू नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेहिताको नारा अघि सार्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । स्थानीय मतदाताका अनुसार पछिल्ला दिनमा उम्मेदवारहरू भोट माग्दै घर–घरमा पुग्ने क्रम उल्लेखनीय रूपमा बढेको छ ।

राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा, स्वतन्त्र उम्मेदवारको प्रभाव र मतदाताको बढ्दो चासोले सिन्धुलीको निर्वाचनलाई निकै प्रतिस्पर्धात्मक बनाएको छ । आगामी दिनमा खुला प्रचार सुरु भएसँगै चुनावी माहोल झन् तातिने देखिन्छ । अब मतदाताले कसलाई विश्वास गर्छन् र कसको रणनीति सफल हुन्छ भन्ने कुराले सिन्धुलीको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

प्रतिक्रिया