शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाईमा ज्येष्ठ नागरिक हेरचाहबारे अन्तरक्रिया

शुक्रवार , माघ १६, २०८२

सिन्धुली,१६ माघ – कमलामाई नगरपालिका–५ सिलामेमा शुक्रबार ज्येष्ठ नागरिकको स्वास्थ्य, हेरचाह र सामाजिक सम्मानलाई केन्द्रमा राख्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ नागरिक सेवा समाज वडा समितिको आयोजनामा तथा कमलामाई नगरपालिकाको सहयोग र समन्वयमा सञ्चालन गरिएको ‘अल्जाइमर्स रोग तथा ज्येष्ठ नागरिक हेरचाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ ले समुदायमा बढ्दो वृद्धजनसम्बन्धी चुनौतीमाथि गम्भीर बहसको वातावरण सिर्जना गरेको छ ।

कार्यक्रम ज्येष्ठ नागरिक सेवा समाज वडा समितिका अध्यक्ष विजयलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल प्रमुख अतिथि त रहनु भएको थियो । साथै निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा समितिका पदाधिकारी, महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख एवं कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूको एकै थलोमा उपस्थिति रहनुले कार्यक्रमको महत्व झन् बढाएको सहभागीहरूको भनाइ थियो ।

अन्तरक्रियाका क्रममा अल्जाइमर्स रोगका लक्षण, कारण, रोकथामका उपाय तथा घरपरिवार र समाजले खेल्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। उमेरसँगै देखिने स्मृतिसम्बन्धी समस्यालाई रोगका रूपमा बुझेर समयमै उपचार र सहाराको व्यवस्था गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । ज्येष्ठ नागरिकलाई शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि सुरक्षित र सम्मानित बनाउनु आजको आवश्यकता भएको निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा नगर प्रमुख पोखरेलले उपस्थित ज्येष्ठ नागरिकहरूलाई लौरो र टोपी वितरण गर्दै सम्मान प्रकट गरे । उनले ज्येष्ठ नागरिकहरूको जीवन अनुभव समाजका लागि मार्गदर्शनका रूपमा रहेको उल्लेख गर्दै नगरपालिका उनीहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक संरक्षणप्रति सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारे । “ज्येष्ठ नागरिक हाम्रो समाजको इतिहास र ज्ञानका धरोहर हुन्, उनीहरूको सम्मान गर्नु भनेको समाजको मूल्य जोगाउनु हो,” उनको भनाइ थियो ।

कार्यक्रमले ज्येष्ठ नागरिकप्रति घर, समाज र स्थानीय सरकारको साझा जिम्मेवारीलाई पुनः स्मरण गराउँदै, यस्ता अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रतिक्रिया