सिन्धुली,१५ माघ – नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सिन्धुली क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप कटुवालले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा कुटपिटमा परी ज्यान गुमाएका दुधौली नगरपालिका निवासी असई मिलन रायको परिवारसँग भेटघाट गरेका छन् । बिहीबार पीडित परिवारको निवासमा पुगेका कटुवालले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए ।
भेटका क्रममा उनले मिलन रायको निधन केवल एक परिवारको व्यक्तिगत पीडा नभई सम्पूर्ण समाजका लागि गम्भीर चुनौती भएको उल्लेख गरे । “न्याय नपाएसम्म पीडित परिवारसँगै उभिनेछु,” भन्दै कटुवालले राज्य संयन्त्रलाई निष्पक्ष अनुसन्धान र पीडितमुखी न्याय प्रक्रियामा अघि बढ्न दबाब दिन आफू पछि नहट्ने बताए । पीडित परिवारले समेत न्यायका लागि निरन्तर आवाज उठाइदिन आग्रह गरेका थिए ।
यसैगरी बिहिवारनै उम्मेदवार कटुवालले दुधौली नगरपालिका वडा नम्बर ११ अन्तर्गत टाँडीदेखि धनसरीसम्म घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् । स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले जनताको दुःख, समस्या र अपेक्षा सुनेका थिए । घरदैलोका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत आवश्यकता अझै पनि प्राथमिकतामा नपरेको गुनासो राखेका थिए ।
घरदैलो कार्यक्रममा बोल्दै कटुवालले जनताका आवाजलाई संसदसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “राजनीति केवल चुनाव जित्ने माध्यम होइन, जनताको पीडा बुझेर समाधान खोज्ने जिम्मेवारी हो ।” स्थानीय विकासलाई प्राथमिकतामा राख्दै युवालाई रोजगारी, कृषिमा आधुनिकीकरण र पूर्वाधार विकासमार्फत दिगो समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ थियो ।
कटुवालले शान्ति, सुशासन र न्याय बिना समृद्धि सम्भव नहुने उल्लेख गर्दै हिंसा र अराजकताको राजनीतिलाई अस्वीकार गर्नुपर्नेमा जोड दिए । उनले जनताको विश्वास नै आफ्नो शक्ति भएको बताउँदै आगामी दिनमा पनि जनताकै घरआँगनमा पुगेर संवादलाई निरन्तरता दिने बताए ।
स्थानीयवासीसँगको भेटघाट र पीडित परिवारप्रतिको संवेदनशील व्यवहारले उम्मेदवार कटुवालको अभियानलाई थप अर्थपूर्ण बनाएको छ । न्याय, विकास र जनउत्तरदायी राजनीतिलाई केन्द्रमा राख्दै उनी चुनावी मैदानमा सक्रिय देखिएका छन् ।