शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अंकगणितले देखाएको संकेतः सिन्धुली–२ मा सत्ता परिवर्तनको सम्भावना

बिहिवार , माघ १५, २०८२

सिन्धुली,१५ माघ – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै सिन्धुलीका चोक–चौतारा देखी सामाजिक सञ्जालहरुमा निर्वाचनको माहौल तातिएको छ । दलहरुले उम्मेदवारी दर्तासँगै निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन । राजनैतिक शक्ति सन्तुलन, समिकरण र सम्भावित परिणामलाई लिएर चासो र चर्चा हुन थालेको छ ।

निर्वाचनको सम्भावित परिणामको आकलन गर्दा यस अघिको नतिजा र बर्तमान राजनीतिक परिस्थितिलाई विश्लेषण गर्नुपर्ने हुन्छ । समग्र राष्ट्रिय राजनीतिमा आएको परिवर्तन, नयाँ राजनैतिक दलहरुको उदय र मतदाताको मनस्थितीमा आएको फेरबदलका कारण निर्वाचनको परिणाम अनुमान गर्न सक्ने अवस्था देखिदैन् ।

सिन्धुली निर्वाचन क्षेत्र नं.२ को प्रतिनिधीसभा निर्वाचन २०७४, ७९ र स्थानीय तह निर्वाचन–२०७९ समेतको मत विश्लेषण गर्दा निर्वाचनमा मुख्य प्रतिस्प्रर्धा नेकपा(एमाले), नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी बीच नै हुने देखिन्छ । भुगोलमा बलियो संगठनात्मक आधार नभएका कारण अहिले सम्म नयाँ दलहरुको उपस्थिती प्रभावकारी र आक्रमक देखिएको छैन ।

निर्वाचन क्षेत्रको पुर्नसंरचना पछि क्षेत्र नं.२ मा २०७४ मा भएको प्रतिनिधीसभा निर्वाचनमा नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्र बीच चुनाबी गठबन्धन हुँदा नेकपा(माओवादी केन्द्र)का हरिबोल गजुरेलले ३० हजार १ सय ७९ मत प्राप्त गरेर बिजयी भएका थिए भने नेपाली काँग्रेसका नेता नरेन्द्रजंग थापाले १८ हजार १ सय २७ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा प्रतिनिधीसभा क्षेत्र नं.२ मा कुल मत ८९ हजार ४ सय २८ मध्ये ५४ हजार ४ सय ५५ मत खसेको थियो । उक्त निर्वाचनमा नयाँ र स्वतन्त्र उम्मेदवारहरुको खासै उपस्थिती रहेको अवस्था थिएन ।

पछिल्लो २०७९ मंसीरमा भएको प्रतिनिधीसभा निर्वाचनमा नेपाली काँग्रेस र नेकपा(माओवादी) केन्द्र बीच बाम लोकतान्त्रिक गठबन्धन भएको थियो भने नेकपा(एमाले) एकल रुपमा चुनाबी मैदानमा थियो । उक्त निर्वाचनमा नेकपा(माओवादी केन्द्र)का लेखनाथ दाहाल(राजन)ले २७ हजार ५ सय १७ मत प्राप्त गरेका थिए भने नेकपा(एमाले)का मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए । त्यस्तै भर्खरै निर्वाचनमा भाग लिएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका अनोज कुमार दाहालले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभा निर्वाचन २०७९ को समानुपातिक तर्फको मत परिणाम हेर्ने हो भने सिन्धुली २ मा नेकपा(एमाले) १७ हजार १ सय ४९, नेकपा(माओवादी केन्द्र) १५ हजार ८ सय २६, नेपाली काँग्रेस १३ हजार ३ सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टी ३ हजार ९ सय ५४ मत प्राप्त गरेको थियो । उक्त निर्वाचनमा कुल १ लाख १ हजार २ सय ३३ मत मध्ये ५५ हजार ८ सय ३३ म खसेको थियो । २०७४ र २०७९ मा दुबै पटक नेकपा(माओवादी केन्द्र)ले कहिले एमालेसँगको त कहिले काग्रेससँगको गठबन्धनका कारण जित हासिल गरेको थियो ।

२०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनको मतको अवस्थालाई हेर्दा क्षेत्र नं.२ मा रहेको ५ स्थानीय तह मध्ये नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)कै उम्मेदवारहरु बिजयी भएका थिए । स्थानीय तहमा काँग्रेसले १ प्रमुख १ अध्यक्ष सहित ३ उपाध्यक्ष जितेको थियो भने नेकपा(माओवादी केन्द्रले ३ सहित अध्यक्ष सहित १ उपाध्यक्ष पाएको थियो । गठबन्धनका कारण नेकपा(एमाले) एक उपप्रमुखमा मात्र सिमित भएको थियो ।

जम्मा ३८ वटा वडा रहेको क्षेत्र नं.२ मा नेकपा(माओवादी केन्द्र)ले २०, नेकपा(एमाले)ले ९ र नेपाली काँग्रेसले ९ वटा वडामा वडा अध्यक्ष जितेको थियो । ३८ वडा मध्ये १४ वडामा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बनेको थियो । उक्त निर्वाचनमा अध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मत हेर्दा नेकपा(एमाले)ले २१ हजार ४ सय ५२, काँग्रेसले गठबन्धनका कारण १० वटा वडामा माओवादी केन्द्र सहितको प्राप्त गरेको मत १९ हजार ९ सय र नेकपा(माओवादी केन्द्र)ले ४ वटा वडामा नेपाली काँग्रेसको मत सहित प्राप्त गरेको मत १८ हजार ३ सय ४० रहेको छ । स्थानीय तहको निर्वाचनमा मत परिणामलाई हेर्दा नेकपा(एमाले) नै पहिलो देखिन्छ ।

अब फाल्गुण २१ मा हुने आगामी निर्वाचनको परिणाम के हुन सक्छ ? बिगतको निर्वाचनको अवस्था हेर्दा एकल चुनाबमा नेकपा(एमाले) नै पहिलो दलको रुपमा देखिन्छ । गठबन्धनका कारण पराजय भोगिरहेको थियो । आउँदो निर्वाचनमा नेपाली काँग्रेस, नेकपा(एमाले) नेपाली कम्युनिष्ट पार्टी एकल रुपमा चुनाबि मैदानमा छन । त्यसकारण पहिलो प्रतिस्प्रर्धी एमाले नै हो ।

२०७९ मा गठबन्धकै कारण चुनाब जितेका नेकपा(माओवादी केन्द्र) लेखनाथ दाहाल(राजन), उनीसँगै चुनाब चुनाब हारेका नेकपा(एमाले)का मनोजजंग थापा, नेपाली काँग्रेसबाट समानुपातिकबाट सांसद बनिसकेकी सुशिला थिङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशिस गजुरेल, स्वतन्त्र उम्मेदवार महेश्वर दाहाल, खड्ग बहादुर वाईवा, राप्रपाबाट मुकुन्द गजुरेल चुनाबी मैदानमा छन ।

विगतका निर्वाचनमा भाग लिएका ठुला दलहरु मध्ये नेपाली कम्युनिष्ट पार्टीबाट बागी उम्मेदवारको रुपमा महेश्वर दाहाल चुनाबि मैदानमा उत्रिएका छन भने नेपाली काँग्रेसबाट जिल्ला उपसभापति खड्गबहादुर वाईवा बागी उम्मेदवार रहेका छन । बिगतका निर्वाचनको मतको अंकगणित र ठुला भनिएका दलहरु भित्र बागि उम्मेदवारहरुको चुनौतीका कारण यसपटकको निर्वाचन परिणाम सहजै एमालेको पोल्टामा जाने भबिष्यबाणी गर्न थालिएको छ ।

 

प्रतिक्रिया