सिन्धुली, १४ माघ – बी.पी. राजमार्गको भिमान खण्ड फेरि एकपटक लागुऔषध ओसार–पसारको ‘हटस्पट’ बनेको छ । गत शुक्रवार साँझ करिब ६ः४० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिन्धुली नगरपालिकाको वडा नम्बर ९, भिमान बसपार्क आसपासमा शंकास्पद मोटरसाइकललाई नियन्त्रणमा लिने क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बर्दीबासबाट भिमानतर्फ आउँदै गरेको बा ८५ प ६०२६ नम्बरको भि १५ मोटरसाइकल चालकले प्रहरी देख्नासाथ मदन भण्डारी राजमार्गतर्फ भाग्ने प्रयास गरेपछि प्रहरीले लखेटेको थियो । काउछे क्षेत्रको भित्री कच्ची सडकमा पुगेपछि मोटरसाइकल चालकले मोटरसाइकल र बोरा छाडेर जंगलतर्फ भागेको प्रहरीले जनाएको छ । घटनास्थलमै गरिएको प्रारम्भिक जाँचमा बोरा भित्र लागुऔषधजस्तै देखिने झोल पदार्थ र ट्याबलेट फेला परेको थियो ।
बरामद लागुऔषधमा ३० बोतल ‘एक्सप्लोन न्यु’, १० बोतल ‘ओनसेन’, २० बोतल ‘कोडिन फस्फेट एण्ड ट्राइप्रोलिडिन एचसीएल’, ८० थान ‘स्पाज्मो’ ट्याबलेट र १० थान ‘नाइट्राजेपाम’ रहेका छन् । मोटरसाइकल यातायात कार्यालय गुर्जुधाराबाट खोजतलास गर्दा सिन्धुली नगरपालिका–७ का जीवन कुमार बस्नेतको नाममा दर्ता रहेको खुलेको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।