नयाँदिल्ली –भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पदबाट राजीनामा दिन सक्ने चर्चाले अहिले सिंगो भारतसहित दक्षिण एसियामै तरंग सिर्जना गरेको छ । दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली मानिनुभएका नेताले पद छाड्ने चर्चा आरएसएस प्रमुख मोहन भागवतको टिप्पणीपछि चलेको हो ।
नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीको अभिभावक संगठन राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक (प्रमुख) मोहन भागवतले आरएसएसका दिवंगत बरिष्ठ नेता मोरोपंत पिंगलेको जीवनमा आधारित पुस्तक ‘मोरोपंत पिंगलेः द आर्किटेक्ट अफ हिन्दू रिसर्जेन्स’ को बिमोचन समारोहमा पिंगलेको पुरानो घोषणा सम्झिनुभयो ।
भागवतका अनुसार पिंगले ७५ वर्ष पुगेपछि उहाँको सम्मानमा वृन्दावनमा एउटा कार्यक्रम आयोजना गरिएको थियो । यो कार्यक्रममा पिंगलेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि पिंगलेले भन्नुभएको थियो, “७५ वर्षको उमेरमा दोसल्ला ओढ्नुको अर्थ म बुझ्छु । यसको अर्थ हो अब तपाइँको उमेर भयो अब तपाइँले बाटो छोडिदिनुस् । अब अरु बाँकी मानिसहरुलाई काम गर्न दिनुस् ।”
मोहन भागवतले पिंगलेको कुरा उठाएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र आरएसएस प्रमुख भागवत स्वयंले पद छाड्ने चर्चा चलिरहेको छ । भागवत आगामी सेप्टेम्बर ११ मा र मोदी ६ दिनपछि सेप्टेम्बर १७ मा ७५ वर्ष पूरा हुँदैछन् । आरएसएस र भाजपामा ७५ वर्ष पुगेपछि सार्वजनिक पद त्याग्नुपर्ने कुनै लिखित नियम छैन तर मोहन भागवत सरसंघचालक भएपछि उहाँले ७५ वर्षमा पद त्याग्ने अलिखित नियम भने अभ्यास गरिरहेका छन् ।
नरेन्द्र मोदीको बायोग्राफी पुस्तक, आरएसएसको इतिहास समेटिएको पुस्तक तथा अयोध्याको राम मन्दिर विवादको विषयमा किताबहरु लेखिसक्नुभएका लेखक तथा पत्रकार निलञ्जन मुखोपाध्यायका अनुसार २००९ मा सरसंघचालक बनेपछि मोहन भागवतले ७५ वर्षको उमेरमा अवकाश हुने अलिखित नियम प्रचलनमा ल्याउनुभएको थियो ।
२००९ मा सरसंघचालक भएपछि भागवतले त्यही वर्ष भएको निर्वाचनका क्रममा भाजपाका बरिष्ठ नेता लालकृष्ण आडवाणीलाई त्यो निर्वाचन उहाँको जीवनका पार्टीलाई निर्वाचन अभियानमा नेतृत्व गर्ने अन्तिम अवसर हुन सक्ने बताइसक्नुभएको थियो । निर्वाचनमा भाजपा पराजित भएपछि आडवाणी आफैं पछि हटनुभयो र अर्को निर्वाचनमा नरेन्द्र मोदी निर्वाचनमा पार्टीको नेतृत्वकर्ता र प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उदाउनुभयो ।
यसअघि गएको मार्चको अन्तिममा शिवसेना (उद्धव ठाकरे) का नेता संजय राउतले प्रधानमन्त्री ‘आफ्नो अवकाशको घोषणा गर्न’ आरएसएस मुख्यालय गएको दावी गर्नुभएको थियो । उहाँले आरएसएस कार्यालयमा बन्द ढोकाभित्र मोदीको उत्तराधिकारीको बारेमा छलफल भएको र अर्को प्रधानमन्त्री महाराष्ट्रबाट बन्ने दावी समेत गर्नुभएको थियो । तर, भाजपाका नेता तथा महाराष्ट्रमा मुख्य मन्त्री देवेन्द्र फडणविसले राउतको दावीको खण्डन गर्नुभएको थियो ।
आरएसएस र भाजपामा ७५ वर्षपछि अवकाशको अलिखित नियम प्रचलनमा भने थियो तर पछिल्लो समय २०२४ को आम निर्वाचनमा भने भाजपाका धेरै नेताहरुले यो कुराको खण्डन गरेका थिए । २०२४ मा मोदी नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि आएपछि विपक्षी दलहरुले आरएसएसको ७५ वर्षमा अवकाश हुने नियमबारे कुरा उठाएका थिए तर भाजपा नेताहरुले यसलाई खण्डन गरे ।
तर, २०१९ को निर्वाचनका बेला भने ७५ वर्षमा अवकाशको नियम प्रचलनमा रहेको भाजपाका नेताहरुले नै पुष्टि गरेका थिए । तत्कालीन पार्टी अध्यक्ष अमित शाहले २०१९ को निर्वाचनअघि भाजपाले ७५ वर्षभन्दा माथिका व्यक्तिलाई उम्मेदवार नबनाउने निर्णय गरेको सार्वजनिक रुपमै बताउनुभएको थियो । उहाँले द वीक म्यागजिनसँग भन्नुभएको थियो “७५ वर्ष माथिका कसैलाई पनि टिकट दिइएको छैन, यो पार्टीको निर्णय हो ।”
तर, २०२४ को निर्वाचनसम्म आइपुग्दा भाजपाले निर्वाचनमा आफ्नो नेतृत्व गर्नको लागि मोदीको विकल्प फेला पार्न सकेन । लगत्तै पार्टीको पुरानो अभ्यास समेत परिमार्जन गरियो र मोदीलाई नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारियो । २०२४ को निर्वाचनको मुखमा अमित शाहले आफ्नो पुरानो भनाइको आफैं खण्डन गर्नुभयो ।
२०२४ मा शाहले भन्नुभएको थियो, “भाजपाको विधानमा त्यस्तो कुनै प्रावधान छैन र मोदीजीले नै देशलाई २०२९ सम्म नेतृत्व गर्नुहुनेछ । त्यसपछिका निर्वाचनमा पनि मोदीजीले नै नेतृत्व गर्नुहुनेछ ।” भाजपाले राजनाथ सिंह अध्यक्ष हुँदा पार्टीले ७५ वर्ष माथिकालाई उम्मेदवार नबनाउने निर्णय गरेको दाबी गरिएको थियो तर सिंहले यो दाबीलाई अस्वीकार गर्नुभएको थियो ।
भाजपाले आफ्नो पार्टी नेतृत्व र चुनावी अभियानको नेतृत्वका विषयमा अभ्यासमा रहेको नीति संशोधन गरेको भए पनि यसको मातृ संगठन आरएसएस भने भाजपासँग असन्तुष्ट छ । २०१४ मा मोदीको नेतृत्वमा चुनाबमा जितेपछि भाजपाले आरएसएसलाई बाइपास गर्न खोजेको मातृ संगठनको बुझाइ छ । मोदीको अनुहारकै ब्राण्डिङ गरेर चुनाबमा जाँदा भाजपाले २०२४ मा एकल बहुमत गुमाएपछि आरएसएस नेतृत्वले सार्वजनिक रुपमै पार्टीले आदर्श सिद्धान्तबाट विचलित भएको भन्दै असन्तुष्टि पोखेको थियो ।
आरएसएस र भाजपाको नेतृत्वबीच अहिले पनि असन्तुष्टि छ । लेखक निलांजन मुखोपाध्यायका अनुसार आरएसएस र यसका प्रमुख मोहन भागवत संगठनमा विश्वास गर्नुहुन्छ र चुनाबी अभियानमा स्वयंसेवकहरुको भूमिकालाई महत्व दिनुहुन्छ । तर, भाजपा नेतृत्व भने ‘फेस ब्राण्डिङ’मा विश्वास गर्छ । यही फेस ब्राण्डिङका कारण पार्टीले २०२४ मा एकल बहुमत गुमाएको आरएसएसको बुझाइ छ । यही कारण अहिले आएर भागवतले ७५ वर्षमा अवकाशको कुरा निकालेको हुनसक्ने केही विश्लेषक विश्वास गर्छन् ।
मोदीले प्रधानमन्त्री पद त्याग्नुहुन्छ वा पदमा कायमै रहनुहुन्छ भन्ने कुरा केही हदसम्म मोहन भागवतकै निर्णयमा निर्भर रहनेछ । मोदीलाई पद त्याग्न कुनै लिखित नियमले बाध्य पार्ने छैन । तर, मोहन भागवतको आफ्नै निर्णयले भने फरक पार्न सक्छ । भागवत मोदीभन्दा ६ दिनअघि ७५ वर्ष पुग्नुहुनेछ । र, आफू ७५ वर्ष पुगेपछि भागवतले सरसंघचालकको पदबाट अवकाश लिने घोषणा गर्नुभयो भने यसले मोदीलाई पनि पद त्याग्न नैतिक दबाब बढ्नेछ ।
यद्यपि भागवतले पद त्याग्ने सम्भावना पनि कम रहेको मुखोपाध्यायको बुझाइ छ । यस वर्ष आरएसएस १०० वर्ष पुगेको अवसरमा एक वर्षसम्म गरिने कार्यक्रम सुरु हुँदैछन् । शतवार्षिकीका कार्यक्रमहरु आउँदो दशैंबाट सुरु भएर अर्को दशैंसम्म जारी रहनेछन् । यो दुर्लभ अवसरमा हुने कार्यक्रमहरु भागवतलाई नै केन्द्रमा राखेर आयोजना गरिएका छन् । यस्तो अवस्थामा उनले पद नछाड्न पनि सक्नुहुन्छ ।
तर, उहाँले जसरी आफू ७५ औं वर्षमा हिँडिरहँदा ७५ वर्षमा अवकाशको कुरा उठाउनुभएको छ यसले उहाँ आफैंले पद त्याग्न चाहेको कुरालाई बलियो बनाउने कतिपय विश्लेषकको बुझाइ छ ।