काठमाडौं, १९ जेठ – सार्वजनिक यातायात नै ठप्प पारेर आन्दोलनमा उत्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारबीचको आजको वार्ता निष्कर्षविहीन भएको छ । ६ बुँदामा सहमति नजिक पुगे पनि मुख्य मागमा भने सहमति जुट्न सकेन ।
“आजको दुई चरणको वार्तामा कुनै सहमति बन्न सकेन,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भन्नुभयो, “अर्को वार्ता भोलि बिहान साढे १० मा बस्ने कुरा भएको छ ।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच आज दुई चरणमा वार्ता भएको थियो ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन् । गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ भने सोमबारदेखि यातायात व्यवसायीले देशभर यातायात ठप्प पारेका छन् ।
वार्ता नटुंगिएकाले बन्दका कार्यक्रमबारे थप निर्णय नभएको अध्यक्ष स्वाँरले बताउनुभयो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलले निरन्तर छलफल भइरहेको बताउनुभयो । छलफल सकारात्मक ढंगले अगाडी बढेको उहाँले जानकारी दिनुभयो ।
अब पुनः मंगलबार साढे १० बजे वार्ता हुने समेत बताईएको छ । सरकार र यातायात व्यवसायीबीच आज एक कार्यदल गठन भई छलफल अगाडी बढेको थियो ।
अरु बुँदामा सहमति नजिक कुराकानी भएको र १ नम्बर बुँदामा सहमति नजुटेको वार्तामा सहभागीले बताएका छन् । १ नम्बर बुँदामा गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ विधेयक फिर्ता गर्नुपर्ने माग राखिएको छ । रातो नम्बर प्लेटले यात्रु बोक्न नपाउने भन्दै यस नियमावलीको विरोध गर्नु परेको सिटौलाले बताउनुभयो ।