शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं,१८ जेठ – नेपाली काँग्रेसका पूर्व सांसद मोहम्मद आफ्ताव आलमलगायत रौतहट बम विष्फोटको घटनामा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने मागसहित न्यायपरिषदमा उजुरी परेको छ । युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिनुभएको हो ।

उहाँहरु पदमा रहँदा न्याय सम्पादन नै प्रभावित हुन सक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उहाँहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ । यसअघि पीडित एवं साक्षीको संरक्षणका लागि जिल्ला अदालतले नै विशेष प्रकारको आदेश जारी गरेको थियो ।

जिल्ला अदालतले विभिन्न आधार देखाउँदै व्यक्ति हत्याको आरोपमा आलम लगायतलाई दोषी किटान गरेको थियो । तर जिल्ला अदालतले औंल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरुको बेवास्ता गरी फैसला गरेको भन्दै उजुरीमा न्यायाधीशहरु थारु र महर्जनमाथि छानविन हुनुपर्ने माग भएको हो ।

पौडेलले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गर्नुभएको छ । न्यायपरिषद ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भिर उल्लंघनको आरोपमा न्यायाधीशहरुमाथि छानविन हुनसक्ने व्यवस्था ।

निवेदनमा कुनै उल्लेख नगरेपछि पौडेलले न्यायाधीशद्वयको कार्यक्षमतामा प्रश्न उठाई निवेदन दिनुभएको हो । गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विष्फोटबाट घाइतेहरुलाई ज्युँदै इँटाभट्टामा पोलेको आरोप खेप्नुभएका काँग्रेसका पूर्व सांसद मोहम्मद आफ्ताब आलमलगायतलाई सफाइ दिने फैसला गरेको थियो ।

फैसलापछि न्यायाधीशद्वय थारु र महर्जनको कार्य सम्पादनमाथि प्रश्न उठेको छ । थारु नेपाली काँग्रेसको सिफारिसमा न्यायाधीश बन्नुभएको थियो । यस अघि उहाँले विजयकुमार गच्छेदारको पनि पक्षमा फैसला गर्नुभएको थियो ।

 

प्रतिक्रिया