शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

गुडन कर्विन्सलाई पछ्याउँदै बर्दीबासमा ढुंगे हतियारको खोजी

मंगलवार , जेठ १४, २०८२

महोत्तरी, १३ जेठ – जर्मन अन्वेषक तथा भूगर्भशास्त्री गुडन कर्विन्सको खोजलाई पछ्याउँदै पुरातत्व विभाग अहिले महोत्तरीको बर्दिबास–३ राइमण्डल क्षेत्रमा पाषाण युगकालीन हतियार खोज्दै छ । विभागका वरिष्ठ पुरातत्वविद् डा मञ्जिल हजारी र भास्कर ज्ञवालीसहितको विज्ञटोली अहिले राइमण्डल र पाटु क्षेत्रका कान्लापाखा कोट्याउँदै हजारौँ वर्ष पहिलेका ढुंगे हतियारको खोजमा लागेको हो ।

“हामीले जर्मन अन्वेषक कर्विन्सको खोजलाई पछ्याउँदै काम थालेका छौँ, यहाँ पुराना महत्वका ढुंगे हतियारका अवशेष भेटेका छौँ”, विज्ञटोलीका पुरातत्वविद् ज्ञवालीले भन्नुभयो, “यो खोजको सफलतासँगै यहाँको पुरानो मानव सभ्यता खोजीका लागि नयाँ अध्याय थपिने छ ।” यसपटक १० दिनसम्म यहीँ रहेर खोज, अनुसन्धान र अन्वेषणका काममा रहिने टोलीले जनाएको छ ।

अहिलेको बिपी राजमार्गको बर्दिबास–३ पाटु पश्चिम र भब्सी नदीपूर्वको राइमण्डल धार्मिक क्षेत्र आसपासमा १२ हजार वर्ष पहिले मानिसले प्रयोग गरेका ढुंगे हतियार रहेका तथ्य उजागर भएसँगै विभागले बर्दिबास नगर कार्यपालिकाअन्तर्गत संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिको समन्वयमा खोजी थालेको हो । गत शनिबारदेखि स्थलगत अध्ययन र अन्वेषण थालेको टोलीले प्रारम्भिक नतिजा पाउन केही दिन लाग्ने जनाएको छ ।

“हामीलाई बर्दिबासको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिको साथ छ, पाषाण युगकालीन ढुंगे हतियार कारखानाको खोजले यस ठाउँको पुरानो मानव सभ्यताको खोज र अध्ययनको ढोका खोल्नेछ”, विज्ञ टोलीका डा हजारीले भन्नुभयो, “हामी गहिरो अध्ययन अन्वेषणमा जुटेका छौँ ।”

यस ठाउँबारे यसअघि विभिन्न क्षेत्रका अनुसन्धानकर्ताले अनुसन्धान तथा अन्वेषण गरी प्रतिवेदन प्रकाशन गर्दै आएका छन् । विगतमा यहाँ प्राप्त ढुंगे हतियार पुरातत्व विभागको प्रदर्शनीमा राखिसकेकाले थप अनुसन्धानका लागि विस्तृत अध्ययन थालिएको डा हजारीले जानकारी दिनुभयो ।

यहाँको ढुंगे हतियार कारखानाबारे सबैभन्दा पहिले सन् १९८० को दशकमा जर्मन अन्वेषक गुडन कर्विन्सले मधेसका विभिन्न क्षेत्रमा पुरानो मानव सभ्यताको खोज गर्ने क्रममा अध्ययन प्रतिवेदन प्रकाशन गरेपछि यसबारे चासो बढेको उहाँको भनाइ छ ।

“कर्विन्सले ‘प्रि हिस्टोरिक कल्चर्स इन नेपाल’ नामको पुस्तकमा आफ्नो अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै पाटु र राइमण्डल क्षेत्रमध्ये पाषाण युगमा हतियार कारखाना रहेको प्रकाश पार्नुभएको छ । कर्विन्सको सो खोज तथा अध्ययन यहाँको नयाँ अन्वेषणको उत्प्रेरणा बनेको हो”, पुरातत्वविद् ज्ञवालीले भन्नुभयो ।

बर्दिबासको ढुंगे हतियार कारखानाबारे गुडन कर्विन्सले पुस्तक प्रकाशन गरेपनि प्रचारप्रसार नहुँदा दुई वर्षअघि बर्दिबास उद्योग वाणिज्य संघको नेतृत्वमा १० वटा सामाजिक सङ्घसंस्थाद्वारा पदयात्रा गर्दै पुरातात्विक, धार्मिक र ऐतिहासिकस्थलबारे अध्ययन गर्न नगरपालिकालाई प्रतिवेदन बुझाइएको थियो । त्यसलगत्तै सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा रातु राइमण्डल पुरातात्विक अध्ययन अन्वेषण र आवश्यक कार्य गर्न बजेट विनियोजन गरेपछि ढुंगे हतियार कारखानाको खोज अनुसन्धान थालिएको हो ।

महोत्तरीको बर्दिबास सेरोफेरोका मैदानी भाग र चुरे पर्वतीय शृंखला आसपास हजारौँ वर्ष पहिले मानव चहलपहल र बसोबास रहेका तथ्य खुल्दै गएका छन् । बर्दिबास–१२ को बिजलपुरास्थित भेडियारीटोलमा राजा विजय सिंहको दरबारका अवशेष भेटिएका छन् । राजा सिंहले सिमरौनगढका राजाका प्रतिनिधिका रूपमा यहाँको राजकाज चलाउने गरेका सो बस्तीका ८० वर्षीय प्रमोदकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार यस ठाउँमा राजा नुहाउने छ बिघा क्षेत्रफलमा फैलिएको पोखरी अहिले पनि छ ।

यसैगरी चुरे काखको राइमण्डलधाम अघि सत्ययुगमा दानवले दुःख दिएपछि इन्द्रले महादेवको तपस्या गरेर रिझाएको ठाउँका रूपमा प्रख्यात छ । यहाँ इन्द्रले स्थापित गरेका इन्द्रेश्वर महादेव मन्दिर छ । यसैगरी बर्दिबास–५ को माण्डवीगंगा (अब मडहा भनिन्छ) नदी किनारको थुम्कोमा महाभारतकालमा अर्जुनले महादेवको तपस्या गरेर पाशुपतास्त्र प्राप्त गरेका कथा यहाँका ज्येष्ठ नागरिक बताउँछन् । केही महिनाअघि भारतको आन्ध्र प्रदेशबाट आएका योगीले रामायणकालीन विदेह राजदरबारका महाज्ञानी अष्टावक्रको जन्म र शिक्षा बर्दिबास–३ को रातु नदी तटको हालको रजबासमा भएको आफ्नो अध्ययन मधेस प्रदेश सरकारलाई बुझाएका छन् ।

आफ्नो ठाउँबारे पुरानो मानव सभ्यताको कुरा जोडिएर यसबारे अध्ययन हुन थालेपछि बर्दिबासबासी उत्साहित भएका छन् । “हाम्रो ठाउँ रातु सभ्यताको पुरानो इतिहाससँग जोडिएको छ, यहाँ एकपछि अर्को अध्ययन अन्वेषणका विषय खोतलिदैछन् । पछिल्लो कालमा पाषाण युगकालीन ढुंगे हतियार कारखानाबारे समाचार लेख्दै आउनुभएका सञ्चारकर्मी विशाल बस्नेतले भन्नुभयो, “यहाँको पुरानो मानव सभ्यताको खोजले यस ठाउँबारे नयाँ प्रचारप्रसार गरिरहेको छ ।”

ढुंगे हतियार कारखानाबारे अध्ययन सकेसँगै १४औँ शताब्दीको मानिने बर्दिबास–१२ बिजलपुराको राजा विजय सिंहको दरबारबारे पनि अध्ययन अनुसन्धान बढाउन नगरको संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिलाई बस्नेतले अनुरोध गर्नुभयो ।

अहिले हतियार कारखानाबारे विज्ञहरूबाट थालिएको अध्ययन, अनुसन्धानले आशा जगाएको नगर संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष हिरा गौतमले जनाउनुभयो । “यो ठाउँको अनुसन्धन गर्ने विषय प्रदेश र संघीय सरकारले प्राथमिकतामा राखेकाले क्रमशः यहाँका कामले निरन्तरता पाउने आशा जागेको छ”, उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया