शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षबिहीन

शनिवार , बैशाख १३, २०८२

काठमाडौं, १३ वैशाख – शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीचको आज बिहानको वार्ता निष्कर्षबिहीन टुंगिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिनुभयो ।

“हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा पुगेका छैनौं”, तिवारीले भन्नुभयो, “ हामीले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउने छ ।” उहाँले अहिले नै आन्दोलन स्थगित भइहाल्ने अवस्था नभएको बताउनुभयो । तर, केही दिनमा निकास निक्लने तिवारीले विश्वास व्यक्त गर्नुभयो ।

कम्तिमा संसदमा विद्यालय शिक्षा विधेयक प्रवेश गर्नुपर्ने र ग्रेडवृद्धि, मर्यादाक्रमलगायतका विषय मन्त्रिपरिषद्बाट निर्णय भएपछि आन्दोलन के गर्ने भन्ने विषयमा सोच्ने सकिने उहाँको भनाइ छ ।

आजको वार्तामा आन्दोलनरत शिक्षक महासंघले आफ्नो मागबारे मन्त्री रघुजी पन्तलाई राखेका थिए । मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा आइसकेको छैन । तर, वार्तालाई निरन्तरता दिने सहमति भएको छ ।

वार्तापश्चात महासंघका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पुनः छलफल र वार्ता गर्ने सहमति गरेर आफूहरू निस्केको पत्रकारहरूलाई बताउनुभयो । वार्ता र आन्दोलन सँगसँगै लिएर जाने उहाँले बताउनुभयो ।

वार्तामा सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले, नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलन शिक्षकहरू रहेका थिए ।

शिक्षकहरू आन्दोलित भएको आज २५ औं दिन भएको छ । शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ ।

लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन । यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ ।

 

प्रतिक्रिया