काठमाडौँ– नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सिन्धुली क्षेत्र नं १ का सांसद श्याम घिमिरले देशको विकासका लागि यौन व्यवसाय र गाँजा खेतीलाई वैधानिक रुपमा खुला गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद् घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्न माग गर्नु भएको हो ।
उहाँले देशमा विदेशी पर्यटक ल्याउने उत्तम विकल्पका रूपमा यौन व्यवसाय भएको जिकिर गर्नुभयो । धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उहाँको धारणा थियो ।
“यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,” घिमिरेले संसदमा भन्नुभयो । धेरै देशले यौन व्यवसायलाई मान्यता दिइसकेको उहाँको भनाइ थियो ।
त्यस्तै, घिमिरेले आर्थिक विकासको आधार गाँजाखेती भएकाले त्यसलाई वैधानिक बनाउन सरकारसँग माग गर्नुभयो । “गाँजा खेतीलाई पनि मान्यता दिऊ । अमेरिकाका धेरैं राज्यले गाँजा खुला गरेका छन् । अब हामीले पनि त्यसलाई खुला गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
देशमा मेडिकल शिक्षामा निजी क्षेत्रलाई रोक्न खोज्दा समस्या उपन्न भएको उल्लेख गर्नुभयो । सरकारले मात्रै मेडिकल कलेज चलाउनुपर्छ भन्ने मानसिकता बोक्दा देशबाट विद्यर्थी विस्थापित हुने गरेको प्रमुख सचेतक घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राइभेट कलेज खोल्नै नदिने अवस्था छ। जसका कारण नेपाली विद्यार्थी विस्थापित भएको छ। विदेश पढ्न जान बाध्य छन् । अहिले पनि सरकारले मात्रै गर्नुपर्छ, मानसिकता विकास गरिएको छ। यो गलत हो ।” उहाँले यस्ता विषयलाई अध्यादेश प्रतिस्थापन विधेयकमा समेट्नुपर्ने बताउनुभयो ।