शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

किन ‘गुमनाम’ छन् रवि लामिछाने ?

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण उजुरीका आधारमा कात्तिक–२ मा पार्टी कार्यालयबाटै पक्राउ पर्नु भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यसयता पार्टी कार्यालय फर्किनु भएको छैन् ।

पार्टीका कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म कतै पनि उहाँको सक्रियता देखिँदैन । राजनीतिक र सामाजिक विषयमा सामाजिक सञ्जालमा पोष्ट गर्दा कार्यकर्ता र समर्थकबाट वाहवाही कमाउने लामिछाने थुनामुक्तपछि गुमनाम हुनुहुन्छ ।

लामिछानेको अनुपस्थितिमा पार्टी कार्यवाहकहरूले चलाइरहेका छन् । कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल (डीपी), कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्ता मनिष झा पार्टी गतिविधिमा सक्रिय देखिनुहुन्छ । बाह्रखरीबाट

पार्टी कार्यवाहकको नेतृत्वमा छ । तर, संसदीय दलको नेता तोकिएको छैन । सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा दर्ता भएपछि उहाँको सांसद पद स्वतः निलम्बनमा छ । सांसद पदबाट निलम्बन फुकुवाका लागि उहाँले सभामुख देवराज घिमिरेलाई संसदको नयाँ अधिवेशनको पहिलो बैठक बस्ने दिन गत माघ १८ गते निवेदन दिनुभएको थियो ।

सँगै उहाँले संसदीय दलको नेतामा निरन्तर रहने मनसाय देखाउनु भएको थियो । सभामुखसमक्ष निवेदन पेश गरेकै दिन सदनमा उपसभापति डा. स्वर्णिम वाग्लेले निलम्बन फुकुवा नभए कानुनी उपचारमा जाने घोषणा गर्नु भएको थियो । तर, लामिछाने कानुनी उपचारमा जानुएको छैन् ।

कार्यवाहक महामन्त्री बुर्लाकोटी भन्नुहुन्छ, ‘‘सभापति लामिछाने कात्तिक–२ मा पार्टी कार्यालयबाटै पक्राउ परेपछि फेरि फर्किनु भएको छैन । पार्टीका कार्यक्रम निरन्तर चलिरहेको छ । तर, पार्टी कार्यक्रममा सहभागी पनि हुनु भएको छैन ।’’

उहाँ सहकारी ठगीमा आफ्नो कुनै संलग्नना नरहेको इन्कारी बयान दिँदै आउनुभएको छ । अदालतको आदेशबाट ठूलै धरौटी बुझाएर तारिखमा रिहा हुनुभएको छ ।

पोखराको सूर्यदर्शन सहकारी मुद्दामा ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख, रुपन्देहीको सुप्रिम सहकारीमा एक करोड र सहारा चितवन सहकारी ठगीमा ५४ लाख धरौटी लामिछानेले बुझाइसक्नु भएको छ । वीरगन्जको सानो पाइला सहकारीका हकमा भने मुद्दा दायर भइसकेको छैन ।

लामिछानेले दुई करोड ७७ लाख धरौटी बुझाइसक्नु भएको छ । तर, लामिछानेले सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतको ६५ लाख धरौटी आदेशविरुद्ध मात्र उच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको छ भने लामिछानेका तर्फबाट पुनरावेदन निवेदन परेको छैन ।

सरकारी वकिल कार्यालयले एकै मुद्दामा पूर्वडीआईजीसमेत रहनुभएका गोरखा मिडियाका तत्कालीन संचालक छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने, तर लामिछानेलाई उन्मुक्ति दिन नमिल्ने दाबीसहित गत फागुन १ गते पुनरावेदन गरिसकेको छ ।

के गर्दैछन् लामिछाने ?

लामिछाने अदालतमा हाजिर हुने, हिरासत बस्ने, सुनुवाइमा सहभागी हुने र धरौटी बुझाउनेबाहेक अन्य गतिविधिमा संलग्न देखिनुभएको छैन् । थुना मुक्तपछि उहाँको सांसद पद निलम्बित भए पनि पार्टी गतिविधिमा अदालतको आदेशले कुनै प्रतिबन्ध लगाएको छैन । तर उनी पार्टी गतिविधिमा सहभागी देखिँनु भएको छैन ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले पार्टी नेताहरूकै सुझाव र समझदारीअनुसार लामिछाने घरमै आराम गरिरहेको बताउनुभयो । “एक चरणको कानुनी प्रक्रिया पूरा नहुँदासम्म पार्टी गतिविधिमा सक्रिय नहुने भनी उहाँ घरमै बसिरहनुभएको छ,” बुर्लाकोटीले भन्नुभयो “उहाँ पार्टीका सिनियर नेताहरूसँग भेटघाट गर्नुहुन्छ । पार्टी गतिविधिका विषयमा हामी बिफ्रिङ गर्छौँ, उहाँ आवश्यक राय सुझाव दिनुहुन्छ ।”

“सामाजिक सन्जालदेखि हरेक ठाउँमा सक्रिय हुने लामिछाने कसरी दिन बिताइरहनु भएको छ त ?” भन्ने प्रश्नमा बुर्लाकोटी व्यक्तिगत अध्ययनसहितका काम गरेको हुन सक्ने अनुुमान गर्नुभयो । उहाँ भन्नुभयो, ‘‘सामान्य कार्यकर्ता शुभेच्छुकहरूसँग नियमित भेटघाट बन्द छ ।’’

लामिछाने किन पार्टी क्रियाकलापमा संलग्न छैनन् त ? लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले एक चरणको अदालती प्रक्रियाले पूर्णता पाएपछि पार्टी गतिविधिमा संलग्न हुने बताउनुभयो । “वीरगंजको सानो पाइला सहकारीको मुद्दा अझै अदालतमा दर्ता भएको छैन,” न्यौपानेले भन्नुभयो, “सरकारले त्यहाँ मुद्दा दायर ग¥यो भने एक चरणको प्रक्रिया पूरा हुन्छ । त्यसपछि उहाँ पार्टी गतिविधिमा सक्रिय हुनुहुनेछ ।”

प्रतिक्रिया