शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ फागुन ०८ बिहीबारको राशिफल

बिहिवार , फाल्गुण ८, २०८१

आज विक्रम संवत २०८१ साल फाल्गुन ८ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–सप्तमी, ० घडी ३३ पला, बिहान ६ बजेर ५२ अष्टमी । नक्षत्र–विशाखा, १० घडी ३५ पला, बिहान १० बजेर ५३ मिनेट उप्रान्त अनुराधा । योग– ध्रुव, ६ घडी ५५ पला, बिहान ९ बजेर २५ मिनेट उप्रान्त व्याघात । करण–बव, बिहान ६ बजेर ५२ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५७ मिनेट । दिनमान २८ घडी १६ पला । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ३६ मिनेट देखि ०८ बजेर ०१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष, (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ । बृष, (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । मिथुन, (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । सज्जन, विद्वान् र भद्रभलादमीको सङ्गत हुने राम्रो दिन छ । आज न्यायसम्पादन, प्रशासनिक क्षेत्र र राजनैतिक वृत्तका काम अघि सार्ने समय हो । कर्कट, (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । सिंह, (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । कन्या, (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँकेरताकेका काममा सफल भइने छ । इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । पारिवारिक सुखको पूर्ण अनुभूति हुने दिन हो । तपाईंको इच्छाको कदर हुने समय छ । हरेक क्रियाकलापमा जीवनसाथी, सन्तान र मित्रवर्गको साथरसहयोग प्राप्त हुनेछ । तुला, (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । बृश्चिक, (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । धनु, (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अल्छीलाग्दो समय छ, तर पनि आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन, नत्र सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । मकर, (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देशरविदेशको यात्रामा निस्कने संयोग जुरेको छ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । मीन, (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– परहीत र सामाजिक काममा दौडधूप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकताप्रतिको मोह घट्न सक्छ । धार्मिकरसामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया