शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ठगि बढ्योः प्रहरीमा भने छैन ठगिका उजुरी

सोमवार , माघ २१, २०८१

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिकाका शिक्षक शिक्षिक ठगिमा परेको बताएका छन् । एजुकेशन लर्निंग डेभलपमेन्ट फाउन्डेशन नेपाल नामक संस्थाले तालिम दिने बहानामा प्राथमिक विद्यालयका बालशिक्षिका र कार्यालय सहयोगीलाई ठगेको आरोप लागेको हो ।

शनिबारसहित बिदाका दिन तालिम दिने भन्दै बालसहजकर्ता र कार्यालय सहयोगीसँग प्रतिव्यक्ति दुई हजारदेखि तीन हजार रुपैयाँसम्म असुलिएको थियो । तीनपाटन नगरपालिका–५, स्थित शान्तिश्री प्राथमिक विद्यालयकी प्रधानाध्यापक सावित्राकुमारी पुलमी पहिले घर र विद्यालयमै आएर तालिम दिने आश्वासनमा रकम असुलेको तर अहिले सम्बन्धित व्यक्ति नै सम्पर्कविहीन भएको बताउँनुहुन्छ ।

आफुलाई एजुकेशन लर्निंङ डेभलपमेन्ट फाउन्डेशनको कर्मचारी बताउने विकास चौधरीले उहाँसहित अन्यबाट पनि तालिम दिने आश्वासनमा फाराम भराएर रकम संकलन गरेका थिए । “ती व्यक्तिले अन्य धेरै विद्यालयका शिक्षक शिक्षिकालाई पनि तालिम दिएको दाबी गरेका थिए । त्यसैले, विश्वासमा परेर पैसा दियौं । तर, पैसा उठाएपछि सम्पर्कविहीन भए,” उहाँले भन्नुभयो ।

पुलमीका श्रीमान पनि शिक्षक नै हुनुहुन्छ । त्यसैले, दुवै जना तालिममा सहभागी हुन उनले अस्ति प्रतिव्यक्ति २७ सय रुपैयाँका दरले पाँच हजार चार सय रुपैयाँ बुझाउनु भएको थियो । तालिमपछि रकम फिर्ता आउने भनिएको थियो । पुलमीका अनुसार ती व्यक्तिले उहाँसँग नागरिकता पनि मागेका थिए । तर, उहाँले दिन मान्नुभएन ।

“अरु सबैसँग नागरिकता लिएको रहेछ । मैले दिन मानिन् । नदिएपछि झगडा समेत गरेको थियो,” उहाँले भन्नुभयो, “अहिले मेरो पैसा डुबेपनि नागरिकता जोगिएको छ ।” यता, तालिमका लागि हनिबार बोलाइएकोमा ती व्यक्ति सम्पर्कविहीन भएको उहाँको भनाइ छ ।

“शुक्रबार पैसा बुझाउँदा शनिवार तालिम भनिएको थियो । तर, शनिवार बिहानैदेखि कल गर्दा उठेन । अहिले त फोनै अफ छ,” पुलमीले भन्नुभयो । आफूसहित वडा नम्बर ५ मा आठ जना ठगिएको उहाँले सुनाउनुभयो ।

अन्य वडामा पनि यसरी धेरैलाई ठगेको हुनसक्ने उहाँको अनुमान छ । “म बस्ने वडामा मात्रै आठ जना पीडित छन् । वडा नम्बर ३ मा दुई जना ठगेको सुनेको छु । अन्य वडामा पनि धेरै ठगिएकोजस्तो मलाई लाग्छ,” उहाँले भन्नुभयो । यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यस घटनाको कुनै निवेदन तथा मुद्धा नआएको जनाएको छ ।

केहि समय अगाडि जिल्लाको कमलामाइ नगरपालिका –६ माढिबजारमा संचालित एक कम्प्युटर ईन्स्टिच्युटका संचालक करिब १५० जना बिद्यार्थीबाट लाखौँ रकम उठाइ फरार भएका छन । कम्प्युटर तथा भाषा सिकाइको लागी भन्दै प्रति बिद्यार्थीबाट ५५०० देखि ८ हजार रुपैयाँसम्म लिएर ईन्स्टिच्युटका संचालक फरार बनेको उक्त ईन्स्टिच्युटमा अध्यनरत बिद्यार्थीले बताएका थिए । माढिबजारको स्टलबजारमा संचालित बिएसएस कम्प्युटर लर्निङ्ग सेन्टरका संचालक कमलामाइ नगरपालिका १० का सुदर्शन श्रेष्ठले कम्प्युटर तथा भाषा सिकाइको लागी भन्दै बिद्यार्थीहरुबाट करिब १२ लाख रुपैयाँ उठाएर फरार रहेको विद्यार्थीले बताएका थिए । फरार ब्यक्तीलाई आबश्यक छानबिनको लािग प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

जिल्लामा पछिल्लो समय यस्ता ठगिका घट्ना बढ्दै गएपनि प्रहरीमा भने कुनै उजुरी आएको छैन । चालुआर्थिक वर्षमा ठगिका उजुरी दर्ता भएका छैनन् । गत आर्थिक वर्षमा ५ वटा ठगिको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार ५ वटै ठगिका मुद्धा फछौँट भइसकेको छ । अनलाइनको माध्यबाट हुने ठगि जिल्लामा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया