शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिरामीको विश्वास जित्दै सिन्धुली अस्पताल

शनिवार , माघ १९, २०८१

सिन्धुली – सिन्धुली अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या बढेको छ । जिल्ला अस्पतालको सेवामा सुधार आए पछि बिरामीहरुको दिन दिनै चाप बढदै गएको हो । कमलामाई नगरपालिका १२ का ६० वर्षिय दिलमायाँ विहिबार जिल्ला अस्पतालमा चेकजाँच गराउनको लागि बिहानै १०ः३० बजे देखि पुर्जी कटाउने लाइनमा हुनुहुन्थ्यो । टाउँको बेला बेलामा दुख्ने गरेकोले त्यसको उपचार गराउन जिल्ला अस्पतालमा आएको उहाँले बताउनुभयो । “पुर्जा काटेर उहाँले सहज डाक्टरलाई भेटेको सुनाउनुभयो । अहिले जेष्ठ नागरिकलाई सहज बनाएको रैछ । छुटै ओपिडि भएकाले सजिलै डाक्टर भेटन पाइयो । डाक्टरलाई भेटन धेरै समय कुर्नु परेन ,” उहाँले भन्नुभयो । अस्पतालमा हाल जेष्ठ नागरिकलाई छुटै ओपिडि कक्ष स्थापना गरिएको छ ।

पछिल्लो दिन सिन्धुली अस्पतालमा विरामीको संख्या बढेको छ । अस्पतालमा दैनिक ४ सय बढी नागरिकले उपचार गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिश ढकालले बताउनुभयो । उहाँका अनुसार दैनिक अस्पतालमा उपचार गराउन आउने विरामीको संख्या बढेको छ । अस्पतालमा विभिन्न सेवाको विस्तारसँगै विरामीको संख्या बढेको उहाँको भनाई छ । अस्पतालमा हाल सिटि स्क्यान, आइसीयू संचालन, क्याविनको व्यवस्था, अक्सिजन ल्पान्ट साथै विरामीको बेडमै पाइपाइबाट अक्सजिन दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । जेष्ठ नागरिकको लागि छुटै ओपिडि कक्षको स्थापना समेत भएको छ । जेष्ठ नागरिकलाई सहज तरिकाले सेवा दिने उदेश्यले जेष्ठ नागरिकको लागि छुटै ओपिडि कक्ष स्थापना गरेको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिश ढकालले बताउनुभयो । अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या समेत बढेको उहाँले बताउनुभयो । “पछिल्लो समय हामीसँग उपकरण, चिकित्सक र औषधि उपलब्ध भएकाले हामीले सेवाग्राही बिरामीको रोग निको पार्न सफल भएका छौंं” उहाँले भन्नुभयो “त्यसैले पनि बिरामीको संख्या थपिँदै गएको हो ।”

उपचारबाट सेवाग्राही पनि खुशि देखिन्छन् । जिल्ला अस्पतालप्रति आम नागरिकको विश्वास बढ्दै गएका कारण पनि उपचारका लागि आउने बिरामीको संख्या बढिरहेको अस्पतालले जनाएको छ । स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा थालेसँगै अस्पतालप्रतिको आम सर्वसाधारणको धारणा समेत बदलिएको छ । अस्पतालको सेवाप्रति विश्वास जगाएको छ । सुविधा विस्तारसँगै चिकित्सक, कर्मचारीको सक्रियता, व्यवस्थापन समितिको समन्वयात्मक भूमिका र समुदायको सहयोगबाट जिल्ला अस्पतालको सेवा प्रवाहमा सुधार आएको हो । पछिल्लो समय सिन्धुली अस्पतालप्रति सर्वसाधारणको विश्वास बढेको अस्पतालमा आमालाई उपचार गराउन आउनुभएको तिनपाटन गाउँपालिका ७ का रिता आलले बताउनुभयो । “पहिले सिधै काठमाडौँ जाने बिरामी अहिले जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि सम्भव नहुने सेवाका लागि मात्र बाहिर जाने गरेका छन्,” उहाँले भन्नुभयो । उपचारमा चौबीसै घण्टा सेवामा तल्लीन रहने युवा चिकित्सकहरुको सक्रियता र जाँगर देखेर जिल्लका बासिन्दा खुसी भएका छन् ।

समयमै सही उपचार नपाएर अकालमा ज्यान गुमाउन बाध्य यस जिल्लाका बासिन्दाको स्वास्थ्य स्थिति सुधार्न उनीहरु लागिपरेका छन् ।

प्रतिक्रिया