सिन्धुली– पछिल्ला बर्षहरुमा मरिण क्षेत्रमा गाजा खेती निरन्तर बढ्दै गईरहेको छ । प्रहरी प्रशासनको नियन्त्रण अप्रेशन निरन्तर जारी रहेको भएपनि गाँजा खेती गर्नेहरुको संख्यामा कमि आउन सकेको छैन । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाजाँ खेती हुँदै आईरहेको छ ।
गाँजा खेती नियन्त्रणका लागी प्रहरीले बर्षेनी गाँजाखेती फडानी गर्ने गरेको भएपनि गाँजाखेती गर्नेहरुलाई भने प्रहरीले नियन्त्रणमा लिने गरेको छैन । गाँजा कस्को जग्गामा लगाईएको हो त्यो कुरा प्रहरीलाई जानकारी भएपनि प्रहरीले उनीहरुलाई पक्राउ गर्ने वा कानुनी दायरामा ल्याउने कार्य गर्न सकेको अवस्था छैन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मरिण र हरिहरपुरगढी क्षेत्रबाट बर्षेनी गाजाँ सहित ब्यक्तिहरु समेत नियन्त्रणमा लिने गरेको छ । तर पनि उक्त क्षेत्रका स्थानीयहरु गाजाँ खेती गर्ने कार्यमा निरुत्साहित बनेको अवस्था छैन ।
मरिण गाउँपालिकाका एक स्थानीयका अनुसार बाहिरका ब्यक्तिहरु गाउँपालिका क्षेत्रमा आएर जग्गा भाडामा लिएर गाँजा खेती गर्ने गरेको र जग्गाको भाडा बढी पाईने भएकाले स्थानीयले जग्गा दिने गरेको बताए ।
स्थानीय जनप्रतिनिधीहरुलाई समेत यो विषय थाहा भएपनि राजनीतिका कारण त्यसलाई नियन्त्रण गर्न ध्यान नदिएको स्थानीयहरु बताउछन । एक स्थानीयले भने, “गाँजा खेती गर्ने वा जग्गा भाडामा दिनेहरु विभिन्न् दलका कार्यकर्ताहरु छन त्यसैले पनि जनप्रतिनिधीहरु त्यसलाई नियन्त्रण गर्ने तर्फ ध्यान दिदैनन् ।”
स्थानीय स्तरमा हुने गाँजा खेती नियन्त्रणका लागी प्रहरीले नष्ट गरेर मात्र संभव नहुने र नागरिकहरुमा अबैद्य खेती हो र यस्को खेती तथा कारोबार गर्दा कानुन अनुसार कार्वाही हुन्छ भन्ने चेतना विस्तार गर्न सकेमा मात्र नियन्त्रणमा आउन सक्ने ति स्थानियले बताए ।
कानुन अनुसार गाँजा खेती गर्नेहरुलाई नियन्त्रणमा लिने देखी जग्गा सरकारले जफत गर्ने सम्मको ब्यवस्था भएपनि प्रहरीले अहिले सम्म एकजना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर कार्वाही गरेको वा मुद्धा चलाएको उदाहरण छैन ।
भारतीयहरुको लगानीमा स्थानीय ब्यक्तिहरुले बर्षेनी मरिण, हरिहरपुरगढी क्षेत्रमा गाँजा खेती गरिरहेको भएपनि प्रहरीले फडानी गर्ने बाहेक अन्य कार्वाही र मुद्धा सञ्चालन गर्न सकेको अवस्था छैन । गाँजा खेती बढ्दै जाँदा मरिण र हरिहरहपुरगढी क्षेत्रका युवाहरुमा दुब्र्यसनी समेत बढ्दै गईरहेको छ । युवाहरु अबैद्य गाँजा ओसार पसार देखी सेवन सम्मका गतिविधीमा संलग्न हुँदा सामाजिक सदभाव समेत बिग्रदै गएको स्थानीयहरु बताउछन । मरिण क्षेत्रका राजनैतिक हिसाबले जिम्मेवार ब्यक्तिहरु समेत गाँजाको अवैद्य कारोबारमा जोडिएका उदाहरणहरु छन ।
चाडै आर्थिक आम्दानी गर्ने लोभमा स्थानीयहरुले जग्गा भाडामा दिने देखी आफै गाँजा खेती गर्ने तथा युवाहरु ओसारपसारमा संलग्न हुने गरेको देखिन्छ । प्रहरीले सबैपक्षको सहयोगमा कानुन अनुसार कार्वाही गर्ने बिषयलाई कडाईका साथ लिन सकेमा गाँजा खेती नियन्त्रण हुन सक्ने स्थानीयहरु बताउछन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरीक्षक गोबिन्दराज काफ्लेले स्थानीय तहको असहयोगको कारण गाँजा खेती लगाउने जग्गा धनीको पहिचानमा समस्या भइरहेको बताउनुभयो । खेती गर्नेको पहिचान नहुँदा कारबाही गर्न सकस भएको उहाँको भनाइ छ । प्रहरीले गाँजाका बोट ढालेर परिणामसहित गाँजा खेती फडानी गरिएको सार्वजनिक गर्दै आएपनि संलग्न पक्राउ परेको कतै पाइदैन । प्रत्येक वर्ष प्रहरीले गाँजा फडानी अभियान चलाउँछ । यति बिघामा लगाइएका यति सय÷हजार बोट गाँजा फडानी गरिएको जनाउँछन् । तर कसले लगाएको गाँजा खेती नष्ट गरियो भन्ने जानकारी गुपचुप राखिन्छ । जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिका क्षेत्र गाँजा खेतीका लागि उर्वर मानिन्छ ।