शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा सहिद दिवसः औपचारिकतामामै सिमित

शुक्रवार , माघ १८, २०८१

सिन्धुली – सिन्धुलीमा सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । कमलामाई नगरपालिकाले सहिद दिवसको अवसरमा नगरपालिकाको कार्यालय अगाडी लोकतान्त्रीतक चौरमा सहिदहरुको नाममा दिप प्रज्ज्वलन गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले सहिद दिवस औपचारिकतामा मात्रै सिमित हुन नहुने बताउनुभएको थियो । सहिदको सपना पुरा गर्न सहिदको फोटोमा माला लगाएर दिप प्रज्ज्वलन गरेर मात्रै सहिद प्रतिको सम्मान नरहने उहाँले बताउनुभयो । सहिदहरुलाई सम्मान गर्नका लागि समान अवसरको आवश्यकता र मुलुकलाई समृद्ध बनाउन सबैले आआफ्नो स्थानबाट त्याग गर्नुपर्ने बताउनुभयो । “सहिदको योगदान आमनागरिकले स्वतंन्त्ररुपमा लेखपढ, हिडडुल गर्न र सम्पूर्ण नागरिक बराबर हुन भन्ने बनाई आफुलाई बलिदान दिने सहिदलाई सम्मान गर्दछु ,” उहाँले भन्नुभयो ।

शहिद दिवश मनाउनु पर्छ भनेर सरकारले निरन्तर माघ १६ लाई बिदा दिने गरेको छ । तर यो दिवश औपचारिकतामा सिमित भएको महसुस हुन थालेको छ । खुलामंचमा गएर नेताहरुले माला लगाएर भाषण गर्ने, शहिदको नाममा भाषण गर्ने मात्र चलन बढेको छ । तर शहिद बनेकाहरुको योगदान र उनीहरुको मार्गलाइ कसैले पनि समात्न सकेका छैनन् । शहिद दिवशको नाउँमा तस्बिरमा फूलमाला चढाउँछन्, अनि फर्केपछि लगातार कुर्सीको खेलमा लाग्छन् । उनीहरुको व्यक्तिवादी, गुटबादी र जाती समूहबादी प्रवृत्तिले देशको विकास, राजनीतिक निकास, संविधान कार्यान्वयन जस्ता बिषय ओझेलमा परिरहेका छन् । संविधान कार्यान्वयनका लागि गर्नुपर्ने काम र त्यसको महत्वपूर्ण सूचक निर्वाचन हो । निर्वाचनलाइ अझै अन्यौल बनाएर गैरहेका दलहरुले शहिदको अपमान जानी जानी गरिरहेका छन् भन्न अतियुक्ती नहोला । किनकी शहिद बनेकाहरुले देशमा परिवर्तन आओस, दुइ छाक खानका लागि रोजगारीको अवसर पाइयोस् र देश स्वतन्त्र भएर रहन सकोस् भन्ने चाहना राखेका थिए । तर दिनदिनै विदेशी हस्तक्षेप भैरहेको देशको सामान्य समस्या समाधानमापनि चासो नराख्ने दलहरुले अहिले पनि शहिदको नाउँमा राजनीतिक गरिरहेको भने पटक्कै सुहाएको छैन ।

शहिदको नाउँमा स्थापना गरिएका र निर्माण थालिएका कैयौं संरचना अहिले पनि जीर्ण छन् । करोडौंका रकम खर्च हुन नसकेर फिर्ता भैरहेको छ, शहिदका शालिकहरु फोहोरको डुंगुरको रुपमा परिणत भएका छन् । सम्मान गर्न नसकेपनि अपमान समेत नगरे हुन्थ्यो भन्ने गरी ती पार्कहरुलाइ वेवास्ता गरिएको छ । आन्दोलनको क्रममा मरेर शहिद भएकाहरुका परिवारमा अहिले पनि उत्तिकै डरत्रास र भयको अवस्था जारी छ । राज्यको लागि मरेकाहरुका परिवारले दुइछाक सजिलै सँग खान पाएका छैनन् । उनीहरुको सामाजिक सम्मान पनि भएको छैन । जनआन्दोलनमा घाइते भएकाहरुले अहिले सम्म पनि उपचार खर्च नपाएका कैयौं उदाहरण छन् । कतिपय शहिद परिवारले आफ्नो आफन्तलाइ किन मारिएको हो भन्ने थाहा पाउन सकेका छैनन् । कतिपय अझै वेपत्ता छन्, उनीहरुको वास्तविक अवस्था पनि सार्वजनिक गरिएको छैन । उनीहरु मृतक हुन्, शहिद हुन् वा कहाँ छन् ? जानकारी समेत दिन नसक्ने गरी राज्य सधै निरिह बनिरहेको छ ।

यी सबै गुनासाहरुका बीच पनि अझै शहिदप्रति सच्चा श्रद्धाञ्जली हुने कुनै कार्यक्रम ल्याउन नसक्नुले राज्यपक्ष प्रति दिनदिनै घटेको विश्वास कहिले पलाउने हो ? आम जनता त्यसको उत्तर खोजी रहेका छन् ।

प्रतिक्रिया