सिन्धुली – सिन्धुली सुनकोशी गाउँपालिका–३ का शिब प्रसाद थापा खेतीकै काममा दिन बिताउनुहुन्छ । अचेल कृषि श्रमले जीवीका धन्न मुस्किल हुन थालेको छ । उहाँहरू मात्र होइन धेरैले कृषिमा श्रम गरेर जीवीका धान्न निकै कठिन हुन थालेको छ । जग्गाको खण्डिकरणले टुक्रा टुक्रा भएको छ भने खेतीपाती वन्यजन्तुले नष्ट गरिदिएको कारण उत्पादन हुन छाडेको छ । गाउँघरमा अहिले दिनभर बाँदर आतङ्क हुन्छ । खेतीबाली जोगाउन निकै हम्मे हुन्छ । थापा भन्नुभयो, “बिहानदेखि साँझ नपरेसम्म बाँदरले हैरानी दिन्छ राती, दुम्सी, भालुलगायतका जङ्गली जनावरले मकै खाएर हैरान परेको छ ।”
गाउँगाउँमा जंगली वन्यजन्तुको आक्रमण बढेको छ । वन्यजन्तुबाट हुने क्षति बढ्दै गएको छ । “गाउँमा के काम गर्ने ? कृषि गर्नुको विकल्प छैन । कि त बस्ती नै छोडेर हिँड्नुपर्यो ।” स्थानिय फुलमायाँ लामाले भन्नुभयो । सरकारले जग्गा बाँझो राख्न नदिने नीतिलाई बाँदर आतंकका कारण चुनौती सिर्जना गरेको छ । पहिले जंगलमा बाँदरको आहारा प्रसस्त पाइन्थ्यो अहिले जंगलमा खानेकुरा नपाउने र गाउँमा पनि बोट बिरुवा हुर्केर जंगल जस्तै भएकोले बाँदर गाउँमा पसेको हो । लामाले भन्नुभयो, “बाँदरले घेरा हालेर मार्न खोज्यो म बारीमा घाँस काट्न गएको थिएँ साथमा खुर्पा थियो र आफ्नो ज्यान बल्ल तल्ल बचाएर भागेँ, अब एक्लै गाउँमा हिँड्न पनि नसक्ने भयो ।”
सुनकोशी गाउँपालिका ५ का देव कुमारी कार्की कृषि श्रमिक हुनुहुन्छ । पुखौँदेखि चलिआएको परम्परागत खेतीबाट अहिले परिवार पाल्न धौ धौ छ । वर्ष दिनसम्म मरिमेटेर खेती गरेपनि ५/६ महिना मुस्किलले जीविका चल्ने गथ्र्यो अब त एक महिना पनि चल्दैन । यस अघि यही जमिनमा आश्रित भएर बाँचेका र अहिले फल्न नपाइ वन्यजन्तुले खेतबारीको अन्न खाइदिने कारण जीविका चलाउन नसेकेर बसाइ सराइ गर्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो ।
कमलामाई नगरपालिका– ४ की सिता कार्की गिट्टी कुटेर जीविका चलाउनुहुन्छ । उहाँ कृषि श्रमबाट जीवन नधान्ने भएपछि नजिकैको ग्वाङखोलाको किनारमा गिट्टी कुट्ने काममा लाग्नुभएको हो । खेतीपातीकै कामले कमलामाई नगरपालिका १२ की सरिता देवकोटालाई दिनहुँ भ्याइनभ्याइ हुन्छ । तर वर्षभरी गरेको दुःखले तीन÷चार महिना पनि खान पुग्दैन । ज्याला मजदुरीले नुनतेल, चामल र घर खर्च चलाउनु पर्छ । उहाँ ढुङ्गा फुटाउन र गिट्टी कुट्ने काम पनि गर्नुहुन्छ ।
तराईबाट पहाड सर्दै जंगली जनाबर
यसैगरी सिन्धुली जिल्लाको महाभारत क्षेत्रको जंगलमा तराई जिल्लामा पाईने जंगली जनाबरहरु बढ्दो रुपमा देखा पर्न थालेको छ । जलबायु परिर्वनसँगै महाभारत क्षेत्रमा तापक्रम पनि बढ्दै गएपछि केही बर्ष पहिलेसम्म तराईका जंगलमा मात्र पाईने बँदेल, दुम्सी, घोरल र हरिण जस्ता जनाबर सर्दै आएको बिज्ञको भनाई पाईन्छ ।
“१० बर्ष पहिलेसम्म लेखमा बँदेल जादैनथ्यो, तराईमा मात्र पाईन्थ्यो,” डिभिजन वन कार्यालय मरिण सिन्धुलीका प्रमुख अजय विक्रम मानन्धरभन्नुहुन्छ, “जलबायु परिर्वतनसँगै महाभारत जंगलमा समेत गर्मी बढ्दै गयो, त्योसँगै जनाबर पनि तराईबाट क्रमसः बिस्तारै सर्दै आएका छन् ।”
जलबायु परिवर्तनको असरले जनाबर मात्र नभई तराईमा पाईने रुखबिरुवा समेत सर्दै आएको उहाँको बुझाई छ । “पहाडी भेगमा पाईने जनाबर भनेको चितुवा र भालु हो”, कार्यालय प्रमुख मानन्धरले भन्नुभयो, “बाघ त पहाडी भेगमा सरेको छैन, घाँस खाने जनाबरहरु सर्दै आएका छन् ।”
जिल्लाको महाभारत क्षेत्र जंगल नजिकका बस्तिमा जंगलबाट निस्किएका जनाबरले निकै दुःख दिएको स्थानीय किसानहरु बताउछन । घ्याङलेख गाँउपालिका अध्यक्ष जगतबहादुर भोलन उक्त गाँउपालिका अन्तर्गत जंगल छेउका बस्तिहरु पश्चिउटार, छर्छरे, चिउरीबास, बोक्टेनी र बस्तीपुर लगायत ठाँउका किसानलाई बँदेल र दुम्सीले निकै दुःख दिएको बताउनुहुन्छ ।
पाँच÷सात बर्ष पहिलेसम्म गाँउमा बँदेल देख्न निकै मुस्किल पर्ने उहाँले बताउनुभयो । “तीन÷चार बर्ष भयो, बँदेलले निकै दुःख दिएको,” उहाँले भन्नुभयो, “बँदेलकै दुःखले लेक छेउका किसान ठाँउ नै छाडेर हिडी सके । मान्छेले बँदेल लेखेट्ने होईन, उल्टै बँदेलले मान्छे लखेटेको अवस्था छ ।”