सिन्धुली – सिन्धुलीमा साढे १४ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका नौँ पालिका भित्रका विभिन्न विद्यालयमा अध्ययनरत साथै विद्यालय बाहिर रहेका १४ हजार ६ सय २२ जना छात्रालाई एचपिभी खोप लगाइने जनस्वास्थ्य कार्यालय सिन्धुलीले एक औपचारिक कार्यक्रम मार्फत जानकारी गराएको हो । पाठेघरको क्यान्सर विरूद्धको देशव्यापी अभियान अन्तर्गत सिन्धुली जिल्लामा पनि उक्त खोप लगाउन थालिएको हो । यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप अभियानका लागि जिल्लाका २२३ जना तालिमप्राप्त स्वास्थ्यकर्मी र ४६२ जना स्वयम्सेवक खटिने छन् । खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानका विद्यालयमा २२२ वटा र विद्यालयभन्दा बाहिर ८१ वटा खोप केन्द्र रहने जानकारी गराइएको छ । सिन्धुलीमा विद्यालयमा जाने बाहेक थप ११७ जना विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्म अध्ययरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो ।
कमलामाई नगरपालिकाका विद्यालय जाने ३ हजार ६ सय १७ छात्रा र विद्यालय बाहिरका ४ जना किशोरीलाई खोप लगाइने छ । यस्तै, दुधौली नगरपालिकाका विद्यालय जाने २ हजार ९ सय ५९ र विद्यालय बाहिरका ३२ जना किशोरीलाई खोप लगाइने छ । तिनपाटन गाउँपालिकाका विद्यालय जाने १ हजार ५ सय ४५ र विद्यालय बाहिरका १० जना किशोरी, फिक्कल गाउँपालिकाका विद्यालय जाने १ हजार ११ छात्रा, गोलन्जोर गाउँपालिकाका विद्यालय जाने १ हजार ८२ र विद्यालय बाहिरका ३ जना किशोरी, सुनकोशी गाउँपालिकाका विद्यालय जाने १ हजार ४५ छात्रा, घ्याङलेख गाउँपालिका विद्यालय जाने ६ सय ९ र विद्यालय बाहिर रहेका ३९, मरिण गाउँपालिकाका विद्यालय जाने १ हजार ४ सय ७७ र विद्यालय बाहिर रहेका २ जना, हरिहरपुगढी गाउँपालिकाका विद्यालय जाने ९ सय ७७ र विद्यालय नजाने २९ जना किशोरीलाई एचपिभी खोप लगाइने आयोजनले जानकारी दिएको छ ।
खोप अभियान प्रभावकारी बनाउन सरोकारवालालाई अभिमुखीकरण, खोपबाट हुन सक्ने समस्या समाधानका लागि चिकित्सकसहितको टोली परिचालन गरिने खोप जानकारी गराइएको छ । गर्भवती, क्यान्सर रोगी र सिकिस्त बिरामी बाहेक सबै लक्षित छात्राहरूलाई खोप लगाउन हुने जानकारी दिइएकोछ ।
यसैबिच खोप कार्यक्रम प्रभावकारी बनाउन जिल्लास्थित खोप समन्वय समितिको वैठक तथा सञ्चारकर्मीलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । आइतबार कार्यक्रममा महिलाको पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि खोप कार्यक्रमलाई प्रभावकारी बनाउनु सबैको दायित्व रहेकोमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कांसाङ लामाले जोड दिनुभयो । खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउने गरी सबैको एकीकृत पहल आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले स्वास्थ्य क्षेत्रमा राज्यले गरेको करोडौँको लगानीले भविष्यमा सकारात्मक प्रभाव पार्ने विस्वास व्यक्त गर्नुभयो ।