सिन्धुली– सिन्धुलीमाडीको मध्य भाग भएर बग्ने ग्वाङखोला (गौमति) को क्षेत्र अतिक्रमण गर्नेक्रम रोकिएको छैन । खोला बग्ने क्षेत्रमा भौतिक पुर्वाधार ठडिदा जिल्ला सदरमुकाम सिन्धुलीमाडी नै उच्च जोखिममा पर्न थालेको छ ।
जिल्लाको भौगोलिक क्षेत्रफल २ हजार ४ सय ९१ वर्ग किलोमिटरमा फैलिएको छ । उक्त क्षेत्रफलमध्ये २ लाख ४७ हजार ७ सय ९ हेक्टर मुख्य क्षेत्र र २५ हजार ९१ हेक्टर क्षेत्रफल बगर रहेका साना–ठूला गरी १ सय ४९ वटा खोला तथा नदी छन् । यो क्षेत्रफलमध्ये ६ हजार हेक्टरभन्दा बढी क्षेत्रफल खोला तथा नदीको जग्गा व्यक्तिले अतिक्रमण गरेर हडपेको अनुमान छ ।
जग्गा, घर आवास व्यवसायीहरूको कारोबारका कारण यस्तो समस्या भएको हो । यहाँ घडेरीको मूल्य आकाशीयकाले गौमती खोला आसपासका क्षेत्र समेत अतिक्रमण गरी व्यवसायीहरूले घडेरी विकास गरी बिक्री–वितरण गर्दा ठूलो समस्या आएको छ । भूमाफियाहरूले खर्च गरेर व्यवस्थित रूपमा नाप जाँच गरी बिक्री–वितरण गर्न थालेपछि प्राकृतिक रूपमा बहने नदी खोलाहरूलाई समेत वर्षायाममा बहाव लिन कठिनाई पर्ने देखिएको छ ।
जसका कारण प्राकृतिक रूपले खोलाको दिशासमेत परिवर्तन गर्न खोजेपछि सिन्धुली जिल्लाको सदरमुकाम माडीबजारको बीच भागबाट बग्ने ग्वांङ र गौमती खोला आसपासमा बग्दा दर्जनौं सरकारी कार्यालयहरू वर्षायाममा नदी कटानको समस्याको जोखिममा पर्न थालेका हुन् । वर्षायाममा सिन्धुलीगढी आसपासको महाभारत पहाडबाट पहिरो तथा बाढी आउने गर्दा सिन्धुलीमाडीका सर्वसाधारणहरूका घर जग्गा र सरकारी कार्यालयहरू असुरक्षित बनेका छन् । वर्षायाममा स्थानीय बासीन्दाहरूले त्रासमा बाच्नु पर्ने स्थिति रहेको छ ।
सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित गौमती खोलाले जिल्ला सदरमुकाममा अवस्थित कमलामाई नगरपालिकाको करिब १२ किलोमिटर लम्बाई र करिब १० हेक्टर क्षेत्रफलमा आफ्नो रूप विस्तार गर्दै आएकोमा मानव सृजित दोहनका कारण नहर बनेको छ । गौमती खोलाको कटानले विगत चार दशक अगाडि पनि हजारौं विघाहा खेती योग्य उर्वरा जमिन बगरमा परिणत भएका थिए । तर, आज खोलाको आसपासमा निर्माण गरिएका स्थानीय बासीन्दाहरूको बस्ने घर टहराहरू समेत खोलाका कारण संकटमा पर्दै आएका छन् ।