सिन्धुली – खुर्कोटका बाढी पिडित नागरिक पुनःनिर्माणमा जुटेका छन् । यहाँका स्थानीय बाढीले बगाएको संरचना निर्माणमा व्यस्त देखिन्छन् । गत असोज १२ र १३ गते सुनकोशी नदिमा आएको बाढीले खुर्कोट बजारनै बगाएको थियो । बजार बगरमा परिणत भएको थियो । बाढीले मानवीय क्षेति नगरेपनि दजनौँ संरचना क्षेती गरेको थियो । बाढीले बगाएको चार महिना पछि यस क्षेत्रका स्थानीय पुनः पुरानै ठाउँमा धमाधम संरचना निर्माण गरिरहेका छन् । व्यापारिक क्षेत्र भएकाले पुनः संरचना निर्माण गरि व्यवसाय सुरु गरेको स्थानीय सन्तोष मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस ठाउँमा राम्रो व्यापार हुन्छ । बाढीले लाखौँ क्षेती गरिसकेको छ, यस्तै ठाउँमा पुन लाखौँ खर्च गरेर सटर बनाउँदै छु । बाढीले गरेको क्षेती र लगानी चार देखि पाँच महिनामै उठाउन सकिन्छ । व्यापारिक ठाउँ भएकाले राम्रो आम्दानी हुन्छ ।” जोखिमयुक्त क्षेत्र भन्ने जानकारी भएपनि जोखिम मोलेर संरचना निर्माण गरेको उहाँले बताउनुभयो ।
सोही ठाउँकी तुलसा आलेमगरले पनि विहिबारबाट आफ्नो व्यापार सुरु गरेको बताउनुहुन्छ । लाखौँ खर्च गरेर सटर निर्माण गरि पुरानै ठाउँमा व्यापार सुरु गरेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “चार महिना बढी चुप लागेर बसौँ, हामीलाई खान लगाउनै समस्या भयो । बाढीले करोडौँ क्षेती गरेको थियो । अन्त भन्दा पनि यसै ठाउँमा बसेर व्यापार गरेको झण्डै १५ वर्ष भइसक्यो, अहिले सम्म यस्तो बाढी भएको पनि देखेको थिएन । सय वर्षमा एक चोटि बाढी आउँछ भन्ने सुनेका थियौँ । एक चोटि चाहि जोखिम मोलेर भएपनि पुन लगानी गरेर व्यवसाय गरौँ भन्ने लागेर व्यवसाय सुरु गरेको हो ।” उहाँको पसलमा सिजन अनुसारको फलफुल र जुस लगाएत पेय पदार्थ विक्रि वितरण हुन्छ । दिनमै १० देखि १५ हजार बढी व्यापार हुने उहाँले सुनाउनुभयो । “यहाँ दिनमै २० हजार बढीको कारोबार हुन्छ । जुनारको जुस, जुनार लगाएत सिजन अनुसारको फलफुल र पेय पदार्थ बेच्ने गर्दछौँ । जुनारको सिजनमा पहिलेको वर्ष झण्डै पचास लाख बढी कमाइ भएको थियो । अहिले सिजनको समयमा चुप लागेर बस्न पर्यो, चार महिना त यतिकै बसियो , ” उहाँले भन्नुभयो । सुनकोशी नदिमा आएको बाढीले बगर बनाएको खुर्कोट बजार पुन निर्माण भइरहेको छ । बजारमा केहि व्यक्तिले पुन आफ्नो व्यापार व्यवसाय सुरु गरिसकेका छन् भने कोहि संरचना निर्माणमा व्यस्त छन् ।
बाढीका कारण खुर्कोटको ३०० रोपनी धानखेत बगरमा परिणत भएको थियो । तल्लो बजारमा भीमज्योति क्याम्पसको जग्गा थियो । उक्त जग्गा क्याम्पसले भाडामा दिएको थियो । जहाँ ३४ घर बनेका थिए । तीमध्ये अहिले २७ घर बगेका थिए । ७ घर बाँकी रहेकोमा ती पनि पूरै डुबानमा परेकाले ठूलो क्षति भएको थियो । भीमज्योति क्याम्पस आफैंले १४ सटर भएको घर बनाएर भाडामा दिएको थियो । उक्त घर पनि बगाएको छ । खुर्कोट व्यापारिक केन्द्र रहेकाले तल्लो बजारमा मात्रै ७० परिवार आश्रित थियो ।