सिन्धुली – सिन्धुलीमा प्राविधिक शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने बिद्यालय र कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ । जिल्लाका सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालन गरेसँगै विद्यार्थीको आकर्षण बढेको छ ।
शैक्षिक गुणस्तर कायम गर्दै विभिन्न विषयका प्राविधिक पढाइले उनीहरुको आकर्षण बढेको हो । पायक पर्ने स्थानमा रोजेको प्राविधिक विषयमा पठनपाठन हुन थालेपछि उनीहरु विद्याथीहरु खुशी भएका हुन । साथै पछिल्लो समय सामुदायिक विद्यालयमा सञ्चालन गरिएका प्राविधिक शिक्षामा विद्यार्थीको संख्या बढेको फिक्कल गाउँपालिका ४ को सुनकोशी माध्यमिक विद्यालय सोखुबेसीका एक शिक्षकले बताए । सो विद्यालयमा बाली विज्ञान पढाइ भइरहेको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्राविधिक विषयको पढाइ सञ्चालन भएपछि सामुदायिक विद्यालयमा करिब नौँ प्रतिशत विद्यार्थी संख्यामा वृद्धि भएको उनले बताए ।
“विद्यार्थी, शिक्षक र अभिवाकको त्रिकोणात्मक प्रयास एवम् सरोकारवाला निकायको प्रभावकारी अनुगमनले शैक्षिक गुणस्तरमा वृद्धि भएको छ”, उनले भने, ”सुविधा सम्पन्न भौतिक पूवाधार निर्माण भएर पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने क्रम बढेपछि प्राविधिक विषयमा पहल गर्दै आवश्यक भौतिक संरचना एवम् प्रयोगशाला स्थापना सहयोग गर्दै आएको छ ।”
पछिल्लो समय सामुदायिक विद्यालय र कलेजले पनि प्राविधिक शिक्षा पढाउन शुरु गरेका छन् । सिटिइभिटीबाटै अध्ययन गरी आफ्नै व्यवसाय गर्दै आउनुभएका कमलामाई नगरपालिका ४ कृष्ण प्रसाद न्यौपानेका अनुसार प्राविधिक विषय उत्तीर्ण भएपछि रोजगारीको समस्या नहुने हुँदा यसतर्फ आकर्षण बढेको हो । उहाँले श्री कमला माध्यमिक विद्यालयबाट तीन वर्षे कृषि डिप्लोमा पढ्नुभएको थियो । तीन वर्षे कृषि डिप्लोमा सकिएपछि न्यौपानेले कृषि व्यवसाय गरेर मनग्य आम्दानी लिरहनुभएको छ ।
स्वदेशमै थोरै लगानी गरेर मासिक लाखौँ आम्दानी गरिरहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “कृषि प्राविधिक पढेको हुनाले सम्पूर्ण ज्ञान छ । त्यसैले सजिलो समेत भयो । अहिले कुनै औषधी तथा विषादी प्रयोग गर्न प्राविधिकको सल्ला कुर्न पदैन । कुन समयमा कस्ता फलफुल तथा तरकारी कुन तरिकाले गर्ने राम्रो ज्ञान आफैसँग छ । फाइदा राम्रो भइरहेको छ । नेपालमै केहि गर्न सकिन्छ ।” परम्परागत कृषि प्रणालीले उत्पादनमा वृद्धि नभएको कारण कृषि क्षेत्रमा आधुनिकीकरणका संवाहक प्राविधिक नै रहेको उहाँले बताउनुभयो । कृषि उत्पादन बढेपछि या भएका उत्पादन सडकको आभावले खपत हुने स्थानसम्म पुग्न सकेका छैनन् । “ग्रामीण सडक मर्मत तथा विस्तारका लागि स्थानीय स्तरमा प्राविधिक नपाउने समस्या स्थानीय तहहरुले भोगिरहेकै छन् । यसले पनि गाउँ–गाउँमा प्राविधिक शिक्षाको आवश्यकता खड्किएको देखाउँछ ।” उहाँले भन्नुभयो । सरकारले प्रत्येक स्थानीय निकायमा सिटिइभिटीबाट सम्बन्धन दिई प्राविधिक शिक्षाको विस्तार गरिने जनाएको छ ।