सिन्धुली – कुनै समय पैदल यात्रा गर्ने यात्रुहरुको लागि विश्राम तथा बास बस्ने प्रयोजनार्थ बाटोमा निर्माण गरिएका कला, संस्कृति र परम्पराले भरिपूर्ण मानिने सिन्धुलीमा ऐतिहासिक महत्व बोकेका पाटी, पौवा तथा धर्मशालाको अस्तित्व लोप हुँदै गएको छ । सिन्धुलीका पाटी, पौवा तथा धर्मशालाहरु बढ्दो शहरीकरण र सडकको विकाससँगै लोप भएका छन् । लिच्छवि तथा मल्लकालीन समयमा पाटी, पौवा, धर्मशाला बनाएर कीर्ति राख्ने प्रचलन रहेको बुढापाकाहरु बताउँछन् । पुण्य प्राप्त हुने विश्वासमा, सामाजिक काम गर्न पाटीपौवा, धर्मशाला निर्माण गर्ने र पिउनका लागि पानी राखिदिने परम्परा हाल हराउन थालेको छ । नयाँ नबनाउने र पुरानोका संरक्षण नगरिएकाले पाटीपौवा र धर्मशाला विरलै देखिने गरेको छ । संरक्षणको अभावले गर्दा सिन्धुलीका सहरी तथा ग्रामीण क्षेत्रमा धार्मिक तथा वातावरणीय महत्वका पाटीपौवाको अस्तित्व सकंटमा परेको छ ।
वातावरणीय दृष्टिकोणले राम्रो, ढुंगाको छानो, ढुंगा र माटोको गारो तथा काठहरु प्रयोग गरिएका पाटीपौवा, पछिल्लो समय संरक्षणको अभावमा लोप हुँदै गएका छन् । पहिले हरेक गाउँ र बस्तीका बाटोघाटोको छेउमा पाटीपौवा हुने गरेको भए पनि हाल सडक बिस्तारले समेत कतिपय पाटी पौवा भत्किने गरेका छन् । पुर्खाले बनाएका पाटीपौवा, ठाँटी र धर्मशाला पछिल्ला पुस्ताले भत्काउने गरेको कतिपयको भनाइ छ ।
कुनै वेला सञ्चारको विकास नहुदा चौतारीमा बसेर मनको बह पोख्ने प्रचलन थियो । साथी भेट्न र भलाकुसारी गर्न यही कुरेर वस्ने चलन थियो । सडकले गाउँ छोएपछि पदमार्ग र चौतारी तथा पोखरीसँगको मानव सम्बन्ध हराउँदै गएको छ । एक दशक अघिसम्म पनि ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो तर, हाल धेरैजसो ठाउँमा निर्माण गरिएका पाटी पौवा र धर्मशाला जीर्ण बनेका छन् । त्यस्ता ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ । बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाइ मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो । तर अहिले यो चलन हराएको प्रति बुढापाका चिन्तित छन् ।
जिल्लाको सुनकोशी गढतिर क्षेत्रमा सडक सञ्जाल र होटल रेष्टुरेण्टको सुविधा नभएको समयमा बटुवा, तीर्थयात्री लगायतका मानिसहरुका लागि विभिन्न ठाउँमा निर्माण गरिएका धर्मशाला र पाटीपौवा संरक्षण अभावमा संकटमा परेका हुन् । अधिकांश गाउँठाउँमा रहेका धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र बटुवाका लागि पिउने पानी राखिदिने परम्परा अहिले हराएको छ ।
एक दशक अघिसम्म पनि ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो । तर, अहिले धेरैजसो ठाउँमा निर्माण गरिएका पाटी पौवा र धर्मशाला जीर्ण बनेका छन् । त्यस्ता ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ ।
.बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाई मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो । तर, अहिले यो चलन हराएको प्रति बुढापाका चिन्तित छन् । बाटोको छेउछाउमा पाटी पौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्न् बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने सुनकोशी गाउँपालिका–६ सित्तलपार्टीका लक्ष्मी तिमल्सीनाले बताउनुभयो ।
बटुवाहरु दिनभर हिँड्दा थकान हुने र बास बस्नका लागि बस्तीहरु नभेट्याउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरेको उहाँले बताउनुभयो । पहिले–पहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएको हुँदा बटुवालाई बास बस्नका लागि धर्मशाला बरदान सावित हुन्थ्यो ।
जिल्लाको विभिन्न ठाउँमा रहेका दर्जनौँ पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा संकटमा परेका छन् । गढतिरमा चल्तीमा रहेका सित्तलपार्टी, मालेपाटी, गुठबजारको पार्टी तथा दुम्जाको नेपालथोकमा रहेको पार्टी संरक्षण बिहिन बन्न पुगेको छ ।
सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कोइराला पुराना ऐतिहासिक सम्पादाको संरक्षणमा पहल गरिरहेको बताउनुहुन्छ । उहाँले परम्परागत सम्पदा राज्यको महत्वपूर्ण सम्पति भएकाले यसको संरक्षणका लागि बजेट विनियोजन गरिरहेको बताउनुभयो । गाउँपालिका क्षेत्रका मौलिक सम्पदाहरु लोप हुँदै गएकोले तिनीहरुको संरक्षणमा गाउँपालिका र स्थानीयहरु जागरुक बनेको समेत बताउनुभयो ।