सिन्धुली – सिन्धुलीमा सवारी दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् । ६ महिनाको अवधिमा ९० वटा सवारी दुर्घटनामा १८ जनाले ज्यान गुमाएका हुन् । पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, क्षमता भन्दा बढी यात्रु बोक्ने लगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण पनि दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । यसबाट स्वयं चालक तथा यात्रुको ज्यान जाने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले मापसे र लापसे (लागुपदार्थ सेवन) सवारी दुर्घटनाको कारण बनिरहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो ६ महिनाको तथ्याङ्कमा मापसे गरेर सवारीसाधन चलाएका चालकका कारण सवारी दुर्घटना बढी भएका छन ्। प्रहरीले जिल्लाभिर नै मापसे विरुद्ध जाँच र कारबाही गरिरहेको छ । तर कतिपय अवस्थामा सार्वजनिक सवारी साधनका साथै एम्बुलेन्स र स्कूल बसका चालकले समेत मापसे तथा लापसे गरेर सवारी चलाएका भेटिएका छन् ।
यस्ता चालकका कारण धेरै यात्रुको ज्यान जोखिममा पर्ने भएकाले त्यस्तो सूचना पाए प्रहरीलाई जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो । यसरी अनुरोध तथा प्रचारप्रसार गर्दा पनि मापसे गरेर सवारी चलाउने क्रम रोकिएको छैन । चालकको लापर्बाहीले स्वयं आफैँ र यात्रुहरूको समेत ज्यान जोखिममा गर्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । मापसे दुर्घटनाको कारक बन्दै गएपछि जिल्लामा प्रहरीले त्यसको चेकजाँच बढाएको छ । प्रहरीले ट्राफिक नियमको पालना नहुँदा हुने दुर्घटनाका लागि सचेतनाका कार्यक्रम गरिरहेको छ । विगत केहि दिनदेखि सिन्धुलीमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट चालक तथा पछाडि सवार व्यक्तिहरू नै घाईते तथा मृत्यु हुने गरेको उल्लेख गर्दै यस्ता सवारी साधनहरू दुर्घटना हुनबाट बच्नका लागि सावधानिका साथ सवारी चलाउन, सवारी चलाउँदा लागुऔषध, मादक पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।
प्रहरी उरिक्षक काफ्लेले भन्नुभयो, “ हामीले मा.प.से÷ला.प.से गरेर सवारी साधन नचलाउने, सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने, हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउने, चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आपनो सवारी साधन नदिने, चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने, लापरवाहीका साथ तीब्र गतिमा सवारी साधन नचलाउने अनुरोध गरिरहेका छौँ । साथै चेकजाँचमा पनि गरिरहेका छौँ ।” आफु यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पुर्व जानकारी लिएर यात्रा गर्न र रातको समयमा सडकमा छाडा चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर सवारी चलाउने, सडकमा राखिएका सडक संकेत चिन्हहरू हेरेर सवारी चलाउन आग्रह गरिरहेको उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिन, सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी चलाउन, हतारमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न, तोकिएको निश्चित स्थानमा मात्र सवारी रोक्ने तथा पार्किङ गर्न आग्रह गरेको छ । यस्तै, प्रहरीले सवारी चलाउँदा मोबाइल फोनमा कुराकानी नगन, अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउन, सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डाखुल्डिहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर सवारी चलाउन, बाक्लो हुस्सु लागेको समयमा हेडलाईट बालेर विस्तारै आपनो साईडबाट सवारी चलाउन, रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउन समेत आग्रह गरेको छ ।