बि.सं.२०८१ माघ ५ गते शनिबार ई.सं.२०२५ जनवरी १८ नेपाल सम्बत ११४५ पोहेलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण पञ्चमी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शोभन योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६ः ५५ बजे, सूर्यास्त साँझ ०५ः ३३ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर १५ मिनेट देखि ९ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष,(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । अध्ययनमा त्यति समय दिन नसकिएला । नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन् । महत्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । आर्थिक स्थितिमा सामान्य सुधार आउनेछ ।
वृष,(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा दिएको वचनले समस्या पर्नेछ । असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन् । परिस्थिति प्रतिकूल हुनाले पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ ।
मिथुन,(का, कि, कु, घ, ङ, छ, के, को, ह) :– जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या पर्ला । काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन् । दाजुभाइमा असमझदारी बढ्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सजग रहनुहोला । सावधानीले उपलब्धि जोगिनेछ ।
कर्कट,( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली–व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ ।
सिंह,(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अवसरका साथ चुनौती पनि देखा पर्नेछन् । आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । लगनशीलताले बिस्तारै फाइदा दिलाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
कन्या,(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन् । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । तापनि पहिलेका कमजोरी सच्याउन सकिनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ ।
तुला,(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आँटले काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ । मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।
वृश्चिक,(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ ।
धनु,(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । काममा जुट्न समेत बाधा पर्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ । असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ । धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । सेवामूलक काममा प्रवृत्त भइनेछ ।
मकर,(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। लगनशील बन्दाबन्दै पनि पछि परिनेछ । पुरानो हिसाबकिताबसुल्झाउन समय लाग्नेछ । संघर्षपछि भने लाभ उठाउन सकिनेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ ।
कुम्भ,(गु, गे, गो, सा, सि, सु, से, सो, द) :– कामको चापले जीवनशैली व्यस्त रहनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन् । तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ ।
मीन,(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– शत्रु र रोगका कारण काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन् । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । तर लाभ उठाउन निकै होसियार रहनुपर्ने समय छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्