शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा सीसी क्यामेरा न्यून, सुरक्षा चुनौती बढ्दो

शुक्रवार , माघ ४, २०८१

सिन्धुली – सिन्धुलीमा सीसी क्यामेरा न्यून हुदाँ सुरक्षा चुनौती बढ्दो क्रममा छ । जिल्लामा पछिल्लो समय सुरक्षा चुनौती बढ्दो क्रममा रहेको हो । चोरी तथा सवारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । सिन्धुलीमा तीन वटा राजमार्गले छोएको हुदा सोही अनुपातमा सवारी साधनको चाप पनि बढ्दै गएको छ ।

बढ्दो सवारी चाप र शहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटनाको चुनौती बढेको प्रहरीको तथ्यांक छ । सुरक्षा चुनौतीको मध्यनजर गर्दै अनुसन्धानमा सहयोगी मानिएको सीसी क्यामेरा न्यून रहँदा समस्या भएको छ ।

घटनाको छानबिन तथा अनुसन्धानमा सार्वजनिक ठाउँमा राखिएका सीसी क्यामेरा निकै प्रभावकारी हुने प्रहरीको भनाइ छ । तर, सिन्धुलीमा पर्याप्त मात्रामा सीसी क्यामेरा नहुँदा शान्ति सुरक्षामा चुनौती बढिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीको मुख्य सडक, चोक र राजमार्गहरूमा पर्याप्त सीसी क्यामेरा नहुँदा र भएका सीसी क्यामेरा पनि बिग्रिएका कारण शान्ति सुरक्षामा चुनौती हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार सिन्धुली जिल्लाभरि सार्वजनिक स्थलमा १ सय ९५वटा सीसी क्यामेरा छन् । तर तीमध्ये ३० वटा क्यामेरा बन्द अवस्थामा छन् । जिल्लाको विभिन्न स्थानमा जडान भएको सीसी क्यामेरा बिग्रिएको प्रहरी उपरीक्षक काफ्लले बताउनुभयो ।

हाल १ सय ६५ वटा क्यामेरामात्रै चालु अवस्थामा रहेको उहाँले बताउनुभयो । शान्ति सुरक्षालाई थप मजबुत बनाउन राजमार्ग क्षेत्र र बजार क्षेत्रहरूमा एएनपीआर सीसी क्यामेरा जडान गरिनुपर्ने उहाँको भनाइ छ । हाल जिल्लाको विपि राजमार्गमा दुई वटा मात्रै एएनपीआर सीसी क्यामेरा छ । जिल्लाको कमलामाई नगरपालिका ९ भिमानमा स्मार्ट डिजिटल चेकिङ पोइन्ट प्रदेश सरसरकाको लगानीमा निर्माणको प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । अपराध अनुसन्धान र दुर्घटनाको निष्पक्ष छानविन गर्न र समग्र शान्ति सुरक्षालाई चुस्त–दुरुस्त राख्न सीसी क्यामेरा अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ छ ।

६ महिनामा साढे ५५ लाख बढी राजस्व संकलन

प्रहरी उपरीक्षक काफ्लेका अनुसार प्रहरीले चालु आर्थिक वर्ष (२०८१/०८२) को ६ महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट साढे ५५ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । सो अवधिमा अवैध मालसामान बरामद, ट्राफिक कारबाही, सुनचाँदी, नदीजन्य पदार्थ लगायत विभिन्न कारबाहीबाट ५५ लाख ५७ हजार दुई रुपैया राजस्व सक्लन भएको उहाँले बताउनुभयो ।

भौगोलिक विकटताका बावजुद सुरक्षा निकाय र स्थानीय तहबिचको समन्वयमा विपद् उद्धार, अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, कानुनी सचेतनालगायतका कार्य सञ्चालन भएको उहाँको भनाइ छ । पछिल्लो समय साइबर अपराध, आर्थिक अपराधसँग सम्बन्धित उजुरीहरूमा वृद्धि भएको र लागु औषधको उत्पादन, खपत, ओसारपसार, बिक्री वितरण लगायत ट्रान्जिटको रूपमा रहेको पनि प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

सवारी कारबाहीबाट सबै भन्दाबढी राजश्व साउन महिनामा संकलन भएको छ । साउन महिनामा मात्रै १४ लाख ६६ हजार राजश्व संकलन भएको हो । भदौँमा १२ लाख ५६ हजार ५ रुपैया राजश्व संकलन भएको छ । यस्तै, असोजमा ५ लाख ६९ हजार ५ सय, कार्तिकमा ८ लाख ४६ हजार ५ सय, मंसिरमा ७ लाख ५८ हजार र पुषमा ६ लाख ६० हजार पाँच सय राजश्व संकलन भएको छ ।

सवैभन्दा बढि राजश्व कागजात विना सवारी चलाउनेहरु बाट उठेको प्रहरीले बताएको छ । मापसे गरी सवारी चलाउने, क्षमता भन्दा बढि राख्ने, हेल्मेट नलगाउने, सिटबेल्ट नलगाउने लगायतका नियम उल्लघँन गरी सवारी चलाउने कारवाहिमा परेको हुन् । यी कारणले दुर्घटना हुने गरेको प्रहरीको भनाई छ । चेकजाचलाई अत्यन्तै कडाई पारीएको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया