सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ५ मा रहेको कमलामाई मन्दिरमा कमलामाईलाई गरगहना पहिराएसँगै विषेश पुजा सुरु भएको छ । सोमबार कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले कमलामाईलाई हरगहना पहिराउनुभएको थियो । योसँगै मन्दिरमा माघ महिनाभरि विषेश पुजा हुनेछ ।
मेयर पोखरेलले कमलामाईलाई गरगहना पहिराए पछि विधिवत रुपमा पुजा सुरु भएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । माईस्थानमा अखण्ड दिप प्रज्वलनको उदघघाटन समेत गरिएको छ । उक्त दिप माघ महिनाभरि सधैभरी बलिरहने छ । ब्यवस्थापन समितिले तिर्थालुहरुको सुरक्षालाई ध्यानमा राख्दै सिसी क्यामेरा जडान, बत्ति जडान र भिडभाड नहोस भन्नका लागी लाईन लगाएर दर्शन गर्ने ब्यवस्था मिलाएको जानकारी दिएको छ । प्रत्येक बर्ष पौष मसान्तमा माइस्थानमा माघी बिशेष मेला लाग्दै आइरहेको छ । माइखोला र ग्वाङखोलाको संगम स्थलमा मेला लाग्दै आएको छ । माइखोला र ग्वाङ खोलाको संगम स्थलमा दिप प्रज्वलन तथा स्नान गरे पितृहरुले मोक्ष पाउने धार्मिक बिश्वास रहिआएको छ । माइस्थानको मेला हेर्न सिन्धुली जिल्लासंगै तराइका छिमेकी जिल्ला तथा भारत बाट समेत भक्तजनहरु आउने गरेका छन् । कमलामाई मन्दिरमा प्राय सवै समयमा दर्शनार्थिहरुको भिड लाग्छ तर पनि माघ महिना भरी कमलामाईमा स्नान गर्नाले आ–आफ्नो भाकल, मनोकाक्षा पुरा हुने जनआस्था र विश्वास रहेको पाइन्छ ।
माघ महिनामा मलाहहरूका देवदेवीहरूको भव्य पूजा गर्ने चलन छ, जसमा कमलामाई प्रमुख देवीका रूपमा पुजिन्छिन । नदी संस्कृतिको परम्परागत मान्यता अनुसार नदीजलबाट प्राप्त हुने माछा, मखानलगायत अन्य खाद्यसामग्रीहरूको जीविकामा सहायक हुनुका साथै भौतिक सुरक्षाको पनि जिम्मा लिइरहने हुँदा कमला माईको पूजाले महत्त्व राख्छ । कोसी नदी तराईमा बग्ने प्रमुख नदी भए पनि सिँचाइका लागि त्यति उपयुक्त मानिँदैन । बरु कमला नदीको पानीले खेतमा सुन फलाउने मान्यता रहेको पाइन्छ । प्राचीन संस्कृत साहित्यमा भने यस्तो महत्त्व राख्ने कमलाबारे कुनै उल्लेख पाइँदैन । आदि ग्रन्थ रामायण, महाभारतमा पनि कुनै सङ्केत पाइएको छैन। जैन र बौद्ध साहित्यमा पनि अवस्था यस्तै छ ।
लोककण्ठमा परम्परागत रूपमा नै आइरहेको कथाले कमलालाई अविवाहित कन्याका रूपमा चित्रण गरिएको छ । उनको सौन्दर्यप्रति मोहित भएर, उनको धारालाई बाँधेर रोक्ने प्रयास गरिएको र मल्लाह जातिकै अति शक्तिशाली कोइलावीरले बाँध भत्काएर कमलालाई स्वतन्त्र गरेको भनिएको छ ।
कमलालाई पहिलो पटक पूजा गरेको दयालसिंहकै कारण कमलापूजाको प्रारम्भ भएको र आजसम्म मल्लाहहरू निष्ठापूर्वक पूजा गर्दै आइरहेका छन् । लोककण्ठमा जीवित रहेको कमला नदीको कथाकै एक प्रसङ्गमा भनिएको छ– एकचोटि झन् मजबुत बाँध बाँधेर कमलालाई रोक्ने प्रयास गर्दा उनी अरब देशका वीर योद्धा मिरा फकिर (लोक व्यवहारमा सुलतान भन्ने गरिएको छ) लाई आग्रह गरी बाँध काट्न लगाएकी थिइन्। यिनै कारणले गर्दा कमलापूजामा दयाल सिंह, कोइलावीर, मिरा सुल्तान आदिको पूजा अत्यन्त श्रद्धापूर्वक गर्ने चलन रहेको छ ।
दयालसिंहलाई दुलरा दयाल भनिन्थ्यो। दयाल सिंह छिमेकका चर्चित नर्तक थिए । उनले कमलालाई आफ्नो नृत्यले मोहित पारेर संस्थापक बनाएका थिए । कमलामाई पूजामा मलाहहरूले दुलरा दयालसिंहको पूजा गर्छन् र कमलालाई पाथी र दयालसिंहलाई खसी दिन्छन् ।
कमला चुरे हिमालबाट उत्पत्ति भई सिन्धुलीको कमलामाई र कमलाखोंच हुँदै समुन्द्रमा विलीन भएर मिथिलाको भूमिलाई सुन्दर बनाएको छ । कोसी–कमलाको नेतृत्वमा मिथिलादेखि कामरूप–बंगालसम्मको बाढीपहिरो नदीको जीवनचक्रले यहाँको मानव जीवनशैलीलाई निरन्तर प्रभाव पारिरहेको छ ।