सिन्धुली – माघे संग्रान्ती नजिकिएसँगै सिन्धुलीमाढीमा तरुल र सखरखण्डाको व्यापार बढेको छ । बजारको चोकचोकमा तरुल किन्ने र बेच्नेको भिड नै देखिन्छ । आइतबार कमलामाई नगरपालिका ४ कि सिता कार्कीले सिन्धुलीमाढीबाट तरुल किनेर ल्याएको सुनाउनुभयो । पछि नपाउने डरले अगाडिनै किनेर ल्याएको उहाँ बताउनुहुन्छ । “सोमबार बेलुका उसिन्ने र मंगलबार एक गते संग्रान्तीको दिन खान तरुल लिएर आएको छु । पछि किन्दा राम्रो नपाउने हुन्छ त्यसैले अगाडि नै किनेको ,” उहाँले भन्नुभयो ।
जिल्लाका किसान पनि यति बेला तरुल खन्न व्यस्त देखिन्छन् । किसान सोम बहादुर लामाले झण्डै २० केजी बढी तरुल उत्पादन भएको बताउनुभयो । उहाँले भन्नुहुन्छ, “यसपाली राम्रो उत्पादन भयो । गत वर्ष रोपेको तरुल अहिले खन्दा २० केजि बढी आएको छ । ”
माघे संक्रान्तिको पूर्वसन्ध्याहमा सिन्धुलीका बजारमा तरूल, पिडालु र सखरखण्डको किनबेच बढेको छ । यी बस्तुहरूले बजार भरिभराउ भएका छन् । मकर संक्रान्ति र माघीको प्रमुख खाद्यवस्तु तरूल, सखरखण्ड भएकाले पनि बजारमा यस्तो किन्न र बेचको चहलपहल बढेको हो । अन्य समयमा सामान्य रूपमा मात्र देखिने तरूल, पिडालु र सखरखण्ड लगायतका कन्दमुलको व्यापार माघीको अवसरमा अन्यधिक हुने गरेको छ । प्रत्येक चोक–चोक र गल्ली–गल्लीमा तरूल, सखरखण्ड, पिडालु, जस्ता उत्पादकहरू व्यापारीले बिक्रीमा राखेका छन् । अन्य समयभन्दा यो समयमा व्यापार अत्यधिक हुने भएकाले उत्पादन भएको सबै वस्तु अहिले बजारमा आइपुगेको छ ।
माघी पछि भने यसको व्यापार पनि कम हुन्छ । ठूलो होलसेल होस् या फुटपाथ तरकारी पसल जहातहि परम्परागत खाद्यान्न तरूल, पिडालु र सखरखण्डले भरिएको देखिन्छ । कन्दमुल खाएर मनाइने माघे संक्रान्तिको पूर्वसन्ध्यामा यि खाद्यान्नको कारोबार बढेको हो । मकर संक्रान्ति, माघी आदि नामले चिनिने माघे संक्रान्ति एक प्रमुख चाड हो । यस दिन तरूल, पिडालु र सखरखण्ड तिलौरा खाने गरिन्छ । पुसको पाक्य र माघको खाक्य भन्ने भनाइ नेपाली समाजमा निकै प्रचलित छ । पुस मसान्तिको दिन उसिनेको तरूल, पिडालु, सखरखण्ड जस्ता परिकार माघे संक्रान्ति अर्थात मकर संक्रान्तिको दिन खाने प्रचलन रहँदै आएको छ । अघिपछि बजारमा फाटफुट रूपमा मात्रै देखिने तरूल लगायत कन्दमुलको व्यापर माघीको अवसरमा व्यापक हुने गर्दछ । तरूलको व्यापार विशेषगरी पुस महिनामा हुने गर्दछ ।
तरूलको मूल्य फरक–फरक
वन तरूल, अन्य तरूल प्रकृति अनुसारको तरूलको मूल्य फरक–फरक छन् । व्यापारी दिनेश सार्कीका अनुसार सबैभन्दा सस्तो घर तरूल प्रतिकेजी दुइ सय रूपैयाँ र वन तरूल सबैभन्दा महँगो पर्छ । सोही अनुसार पिडालु र सखरखण्डको मूल्य निर्धारण पनि प्रजाती अनुसार फरक–फरक रहेको छ । विभिन्न प्रजाती अनुसार तरूलको मूल्य प्रतिकिलो ८० देखि ३०० रूपैयाँसम्म पर्ने व्यावसायी बताउँछन् ।
वन तरूलको मुल्य चार सयदेखि पाँच सयसम्म रहेको छ भने अन्य तरूलको मूल्य प्रतिकेजी १० देखि दुईसय रूपैयाँमा किनबेच भैरहेको छ । विगतमा तरूल प्रतिकेजी ८० रूपैयाँमा किनबेच भएको थियो । परम्परागत खाद्यान्न जस्तै पिडालु, सखरखण्डको भाउ भने आकासिएको छ । कम उत्पादन र कम किनबेच हुने भएकाले पिडालु, सखरखण्डको भाउ तरूलको तुलनामा आकासिकएको व्यसायीले बताएका छन् । यस्तै, सखरखण्डको मूल्य पनि बजारमा फरक–फरक देखिन्छ ।