सिन्धुली – जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थलहरु मध्ये कमलामाई नगरपालिका ५ मा रहेको माईस्थानमा मन्दिरमा यो वर्ष पनि मेलाको तयारी पुरा भएकोे छ । पुष २९ गते मन्दिरमा कमलामाईलाई गरगहना पहिराए पछि विधिवत रुपमा पुजा सुरु हुनेछ । राष्ट्रिय बाणिज्य बैंक जिल्ला शाखा सिन्धुलीमाढीमा रहेको गरगहना पहिराएपछि विधिवत रुपमा पुजा सुरु हुने बताइएको छ ।
कमलामाईको सम्बन्धमा “बृहत् विष्णुपुराण” को मिथिला महात्मामा पनि यस बारेमा विस्तृत रूपमा उल्लेख भएको पाइन्छ । मन्दिरमा माघेसंक्रान्तिका दिन ठुलो मेला लाग्ने गर्दछ । उक्त दिन भक्त जनहरूको अत्यधिक भिड हुने गर्दछ ।
परम्पराअनुसार कुनै विघन बाधा पर्दा सो निवारण गर्नका लागि र कुनै कामको सफलता प्राप्ति होस भनी पुकार गर्दा कमलामाई देवीलाई पाठी चढाउने भाकल गर्ने भक्त जनहरूमा जन विश्वास रहेको छ । कामना सिद्धि भएमा मकरसंक्रान्तीका दिन मन्दिरमा जाग्राम बसी पाठी बली पनि चढाउँछन् । यी देवीलाई मनोकामना पुरा गर्ने देवीको रूपमा भक्त जनहरूले पुजिइन्छ ।
मेलामा भाकल पूरा गर्न भक्तजनहरु रातभरि कमलामाई मन्दिरमा जाग्राम बसी बत्ती बाल्ने र बिहानीपख झिसमिसेमा नै देवीका नाममा पाठी बलि चढाउने परम्परा छ । माघ महिना भरि नै मन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ ।
मन्दिर व्यवस्थापन समितिका अनुसार माघे संक्रान्तिका दिन लाग्ने मेला भर्न छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतको विभिन्न सहरबाट श्रद्धालु भक्तजनहरु आउने गर्छन् । कमलामाई मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको र स्वदेश तथा विदेशमा समेत प्रसिद्धि फैलिदै गएको छ ।
यस्तै, मेलाका दिन बाहेक अन्य दिनमा पनि मन्दिरमा सयौंको संख्यामा भक्तजनहरु दर्शन गर्न पुग्नेगरेकाछन । स्थानीयका अनुसार कमलामाई मन्दिर उत्पत्तिका सम्बन्धमा छुट्टै किम्बदन्ती छ । स्थानीय मगर जातिको परिवारमा कमला नाम गरेकी एउटी कन्या थिइन् । एक दिन बिहानै झिसमिसेमा उनी घैँटोमा पानी बोकेर घरतर्फ जाँदै गर्दा घैंटो फुटेर पानी पोखियो र उनी त्यही अलप भइन् । त्यही पोखिएको पानी बगेर कमला नदीको उत्पत्ति भयो र कमला नदीको नामबाट कमलामाई मन्दिरको उत्पत्ति भएको मानिन्छ ।
अहिले पनि कमला नदीमा मुहान एउटा माटाको फुटेको घैँटो जस्तै रहेको उक्त वडाका अध्यक्ष पूर्णबहादुर खड्का बताउनुहुन्छ । उहाँका अनुसार कमलामाई मन्दिर र सदरमुकाम सिन्धुलीमाढीमा रहेका कालीमाई मन्दिर दिदीबहिनी हुन् । त्यसैले पहिले दिदी कालीमाई मन्दिरमा परेवा बली चढाई पूजा गरेपछि मात्रै बहिनी कमलामाई मन्दिरमा बलि दिने र पूजाआजा गर्ने परम्परा छ ।
माईस्थान मन्दिर जिल्ला सदरस्थानबाट बग्ने गौमती नदी र कमला नदीको संगममा अवस्थित छ । यो मन्दिर निकै पुरानो मन्दिर हो । यसको उत्पत्ति निश्चित रूपमा भन्न सकिँदैन तर यहाँ प्रदान गरिएका भेटीहरूबाट यसको निर्माणको समयको अनुमान गर्न सकिन्छ । मकबानी राज्य अन्तर्गत रहेको समयमा यसमा सेन राजाहरू, इतिहासको विभिन्न कालखण्डमा यसलार्ई भ्रमण गर्ने प्रमुख व्यक्तित्वहरू र राज्य सञ्चालक प्रशासकहरूले यहाँ चढाएका वस्तुहरूबाट यसको समयको अनुमान गर्न सकिन्छ । १८८६ सालको माघमा काजी भीमसेन थापा आफ्नी कान्छी पत्नी भक्त कुमारीसँग चाँदीको मुकुट चढाउन आएका थिए भन्ने कुरा मुकुटमा उल्लेख गरिएको छ।मकवानी राजा हरईन्द्र सेनको पालामा कमलामाई मन्दिरमा चाँदीका पानसहरू चढाइएका छन्। एउटा पानसमा १६९२ साल माघ बदी ३ रोज शुभम प्रस्ट अक्षरमा लेखिएको छ–प्रदान गर्नेहरूमा श्री दलदीपबहादुर पाण्डे लेखिएको छ । यसले यो पनि देखाउँछ कि मन्दिर तीन सय ८१ वर्ष पहिले बनेको थियो । एउटा स्रोतले कुशेश्वर महादेवबारे महानन्द सापकोटाको एउटा लेखमा १५३० सालमा मकवानी राज्यका राजा राघव नरेन्द्र सेनले कमलामाई मन्दिरको जीर्णोद्धार गरेको देखाउँछ तर पंक्तिलेखकले यस लेखको स्रोत पत्ता लगाउन नसके पनि मन्दिर लगभग चार सय वर्षअघि निर्माण भएको तथ्य भने स्पष्ट छ ।
कमला नदीको अवस्था
कमला नदी चुरिया हिमालको सिन्धुली गढीनजिकै माईथान टाँसिएर समुन्द्री सतहबाट ३९ सय फिट माथिबाट तल बग्छ । चिसापानीबाट दक्षिणी ढलानमा रहेको कमलाखोँच हुँदै तराई क्षेत्रमा प्रवेश गर्छ । धनुषा र सिरहाको सिमानामा रहेको यो मधुवनी जिल्लाअन्तर्गत जयनगरबाट ३.५ किलोमिटर उत्तरमा भारत प्रवेश गर्छ । पछि यो बागमतीको बदलाघाट (खगरिया जिल्ला, विहार) मा मिल्छ भने अर्को धारा कोसीमा पनि मिल्छ ।
प्रारम्भिक चरणमा यसको अवस्था निरन्तर परिवर्तन हुँदै आए पनि अहिले निश्चित दिशामा बगिरहेको छ । कमला नदीको लम्बाइ तीन सय २८ किलोमिटर छ जसमध्ये दुई सय आठ किलोमिटर नेपालमा र एक सय २० किलोमिटर भारतमा पर्छ। आफ्नो यस यात्रामा यो आफ्नाभित्रका ताओ, बैजनाथ नदी, मैनावती, धौरी, सोनी, बलान, विशूला र चडहा नदीलाई समेट्दै बगेकोे छ ।