सिन्धुली – सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढी र अन्य पालिकामा उत्पादनयोग्य फाँटहरू घर तथा बस्तीले भरिन लागेका छन् । नेपालमा बस्ती विकास र व्यवस्थापनसम्बन्धी प्रष्ट कानून र दृष्टिकोण नहुँदा खेतीयोग्य जमिनमा घरहरू बन्ने क्रम बढेको हो ।
पछिल्लो पुस्ता खेती किसानीमा भन्दा पनि जागिर वा अन्य काममा आकर्षित हुन थालेपछि बस्ती बसाल्नुपर्ने गाउँ रित्तिँदै गई उत्पादनयोग्य जमिन भरिन लागेका हुन् । यसरी बस्ती बसाल्नुपर्ने डाँडापाखा भने दिनानुदिन खाली हुँदै गइरहेका छन् । जुनसुकै सहरी क्षेत्र वा सहरीकरण हुँदै गएका क्षेत्रमा यो समस्या नभएको भने होइन ।
देशको राजधानीलगायत मुलुकका ठूला सहरमा बस्ती विकास हुँदै गएपछि उत्पादनयोग्य जमिन घरले भरिँदै गएका हुन् भने नयाँ विकसित हुँदै गएका सिन्धुलीमाढी, खुर्कोट,दुधौली,मरिणगाउँपालिका लगायत स्थानमा भने केही समयमै खेतीयोग्य जमिन सकिने अवस्था रहेको छ ।
संघीयता लागू भएसँगै गाउँगाउँमै सिंहदरबार बनाउने सरकारको नीतिअनुसार हरेक पालिकामा पनि सहरीकरण भइरहेकाले गाउँका खेतीयोग्य जमिन पनि नष्ट भइरहेका छन् । खेतीयोग्य जमिन, त्यसमा पनि धान, मकै गहुँलगायतका वर्षमा तीन बाली लाग्ने जमिन मासेर धमाधम घर बनिरहेका हुन् । यसले पछिल्लो पुस्ताले खेतीयोग्य जमिन नदेख्ने हो की भन्ने चिन्ता लाग्न लागेको कमलामाई नगरपालिका–५ का स्थानीय मोहोन घिमिरे थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धान मकै फल्ने खेतमा घर फल्न लागेपछि के को उत्पादन हुनु र ताजा खानेकुरा खान पाउनु ?”
स्थानीयवासीले पनि खेत मासेर धमाधम घर बनाइरहेका छन् । यसैगरी खेतीयोग्य जमिनमा बस्ती विस्तार हुँदै जाने हो भने खेतीयोग्य जमिन सकिने अवस्था छ र खाद्य संकट बढ्दै जाने त्यत्तिकै सम्भावना रहेको छ । खेतीयोग्य जमिनलाई जोगाउनेसम्बन्धी आवश्यक तयारी भइरहेको कमलामाई नगरप्रमुख उपेन्द्र पोखरेल बताउनुहुन्छ । तर खेतीयोग्य जमिनमा बस्ती बसाल्न हालसम्म कसैले रोक्न नसककोको घिमिरे बताउनुहुन्छ ।