काठमाडौं – मादक पदार्थ सेवन (मापसे) जाँचमा ट्राफिक प्रहरीले कडाइ गरेपछि पछिल्लो समयमा चालकले लागू पदार्थ सेवन (लापसे) गरेर सवारी हाँक्न थालेको पाइएको छ ।
चेकजाँचका क्रममा यात्रुबाहक तथा मालबाहक सवारी चलाउने चालकले समेत लापसे सेवन गरेको पाइएको प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
“दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले लापसे चेकिङलाई तीव्रता दिएको छ । यही पुस १ देखि २५ गतेसम्म मात्रै बागमतीका १० जिल्लाका ४९ चालक लापसे कारबाहीमा परेका छन्,” सुवेदीले भन्नुभयो, “मापसे कारबाहीबाट जोगिन चालकले लापसे गर्न थालेको पाइएको छ ।”
लापसे गरेका चालकलाई ठाउँको ठाउँ जाँच गरेर कारबाही गर्दै आएको जानकारी सुवेदीले दिनुभयो । उहाँका अनुसार यो महिनाको २५ गतेसम्म गरिएको लापसे चेकिङअन्तर्गत सबैभन्दा धेरै सिन्धुली रुटमा चल्ने सवारीका चालक कारबाहीमा परेका छन् ।
सिन्धुली रुटमा चल्ने लामो दुरीका सवारीसाधनका २५ चालक कारबाहीमा परेका हुन् । सिन्धुलीपछि चितवनमै लामो दुरीका चालकहरू लापसे गरेर सवारी हाँक्दै गरेको अवस्थामा भेटिएका छन् । चितवनमा ६ चालकलाई लापसे सेवनमा कारबाही गरिएको छ ।
त्यस्तै, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र धादिङमा पनि केही सवारी चालक लापसे गरेर सवारी हाँकेको पाइएपछि कारबाहीमा परेका छन् । झण्डै एक महिना लामो चेकजाँचमा नुवाकोट र रसुवामा भने लापसे गरेका सवारी चालक भेटिएका छैनन् । लागुपदार्थ सेवन गरे/नगरेको पत्ता लगाउन ठाउँको ठाउँ पिसाब जाँच गर्ने गरिएको छ ।
एसपी सुवेदीले भन्नुभयो, “चालकको युरिन चेक गरेर लापसे गरे/नगरेको तत्कालै पत्ता लाग्छ । राजमार्गमा ट्राफिक जाँचका क्रममा जुन रुटका चालकले लापसे गरेको पत्ता लाग्छ, कारबाहीका लागि सोही जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पठाउँछौं ।”
सुवेदीले लापसे चेकिङलाई निरन्तर दिइने बताउनुभयो । “लापसे गरेका चालकको युरिन परीक्षण गर्दा अधिकांशले गाँजा सेवन गरेको देखियो,” सुवेदीले भन्नुभयो, “लापसे गरेर सवारी हाँकेपछि दुर्घटना जोखिम बढिरहेको छ ।”