शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

संविधान सहमतिको दस्ताबेज हो : पोखरेल

मंगलवार , आश्विन ८, २०८१

सिन्धुली – नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले संविधानसबै दलहरूको सहमतिको दस्ताबेज भएको बताउनु भएको छ । सोमबार प्रेस चौतारी नेपाल सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

आवश्यक पर्दा संविधान संशोधन र परिमार्जन हुन सक्ने बताउँदै उहाँले अहिलेको संविधान कार्यान्वयनको क्रममा देखा परेका समस्याहरूलाई समाधान गर्न संशोधन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अन्तर बस्तु र प्रक्रियामा दलहरूबिच सहमति भए संविधान संशोधन गर्न सकिन्छ । शासकीयस्वरुप, निर्वाचन प्रणाली, न्यायपालिका, संवैधानिक अंगसँग सम्बन्धित, स्थानीय तह, प्रदेश लगायतका विषयमा प्रश्न उठेकाले छलफल हुन सक्छ ।” संविधान संशोधन कुनै एउटा पार्टीको मात्र पेवा नभएको बताउनुभयो ।

पोखरेलले संविधानको मूल मर्मलाई कुल्चिन नदिईकन सहमतिका आधारमा संविधान संशोधन हुने बताउनुभयो छ । पोखरेलले संघियता, गणतन्त्र, समावेशीतालाई कमजोर बनाउने, सामानुपातिक सहभागितालाई कमजोर बनाउने गरि संविधान संशोधन गर्न एमालेले नदिने बताउनुभयो ।

संविधान जारी भएपछि गरिएका अभ्यासमा केहि विवाद, समस्याहरु देखिएका कारण संविधान संशोधन आवश्यक रहेको बताउनुभयो । उहाँले संविधान संशोधन गर्दा कुन विधिबाट गर्ने र कुन–कुन विषयमा गर्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संविधान संशोधन गर्दा नेपालका सबै राजनीतिक दलहरुसँग सहमति गरेर मात्र गरिने बताउनुभयो ।

नेकपा एमाले सिन्धुलीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन आउनुभएको पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले संविधान संशोधन विशेष गरि शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायपालिकाका विषय, संवैधानिक अंगसँग सम्बन्धित विषय, स्थानीय निकाय सञ्चालन, प्रदेश संरचना लगायतका विषयमा आवश्यकता देखिएको बताएउनुभयो ।

संविधान संशोधनका विषयमा दलहरु एक ठाउँमा उभिनुपर्ने बताउँदै पोखरेलले कन्टेन्ट र प्रोसेसमा कसरी जाने भनेर सहमति जुट्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“संविधानमा संशोधन आवश्यक पर्दा नेकपा एमाले खुल्ला छ । यो कुनै एउटा पार्टीको पेवा विषय हैन, छलफल गरेर अन्तरवस्तुमा पुगेर प्रक्रियाबाट निश्कर्ष निकाल्नुपर्छ ।”

पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो । “अहिले देशमा देखिएको संकटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुराए देशलाई कसरी बचाउने भन्ने गम्भिर प्रश्न आउँछ । त्यस कारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ । एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गछौँ ।”

एमाले निर्णयक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधिनता, अखण्डको पक्षमा उभ्याउने उहाँको भनाइ थियो । उहाँले नेपालमा काँग्रेस र कम्युनिष्टको दुई आयामिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । अफ्ट्यारो र संकटको अवस्थामा सहकार्यको परम्परा र राज्य सञ्चालनमा प्रतिष्पर्धा हुने गरेको विचार व्यक्तगर्नुभयो ।

“अहिले संकट टार्न र मुलुकको परिस्थिती थप नविग्रियोस् भन्नका लागि एक ठाउँमा आएर साझा सहमतिका साथ अगाडि जानुपर्छ भनेर अहिलेको समीकरण बनेको हो”, नेता पोखरेलले भन्नुभयो, “अब आउने निर्वाचनमा प्रतिस्पर्धा गर्दैनौँ भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुन्नौँ । यो हाम्रो क्लिएर धारणा छ ।”

गठबन्धन २०८४ सम्म रहन्छ भन्ने पत्रकारहरुको प्रश्नमा पोखरेलले यो गठबन्धन देशको आवश्यकताले भएको गठबन्धन भएकाले देशको निकासका लागि रहिरहन आवश्यक रहेको सुनाउनुभयो । गठबन्धन कहिलेसम्म रहने भन्ने प्रश्न नगरि हेर्दै जान पनि उहाँले आग्रह गर्नुभयो । उहाँले अहिलेको गठबन्धन राष्ट्रिय संकट समाधान गर्न बनेको भन्दै गठबन्धन नरहेमा देशको लागि नै दुर्भाग्य हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया