सिन्धुली – नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)लाई पार्टीले सचेत गराएको छ । माओवादी सिन्धुली इन्चार्ज बुद्धिमान माझी (वसन्त) ले एक विज्ञप्ति जारी गर्दै सिन्धुली पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाएको भन्दै यस्तो कार्य नगर्न सचेत गराउनु भएको हो ।
“माओवादी आन्दोलन र पार्टी प्रति जनविश्वास र पुनः जनलहर बढ्न थालिसकेको अवस्थामा हाम्रै पार्टीको बागमती प्रदेश कमिटी सदस्य ज्वाला प्रसाद न्यौपाने (पुकार) ले आफ्नो फेसबुक अकाउन्ट र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सिन्धुली जिल्ला पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाई सामाजिक सञ्जाल मार्फत जनतामा भ्रम छर्दै जिल्ला पार्टी र संयोजक स्वयंको चरित्रहत्या गर्ने र जिल्ला नेतृत्व त्याग गरी मार्ग प्रशस्त गर्न निरन्तर सामाजिक सञ्जाल मार्फत अनावश्यक दबाब सिर्जना गर्ने जुन प्रयत्न गरिएको छ सो कुरा पार्टी विधान विपरीत रहेको जानकारी गराउन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “त्यस्ता कपोकल्पित, तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण नगर्न र नगराउनुहुन न्यौपानेलाई सचेत गराउँदै त्यस्ता अनावश्यक तथ्यहीन भ्रामक आरोपको पछि नलाग्नुहुन सिंगो पार्टी पंक्ति, शुभचिन्तक, समर्थक र आम न्यायप्रेमी जनसमुदायहरूमा हार्दिक अपिल गर्न चाहन्छौँ ।”
गोलन्जोर गाउँपालिकाका निर्वाचित उपाध्यक्ष समेत रहनुभएका न्यौपानेले बुधवार मध्यराती आफ्नो सामाजिक सञ्जालबाट जिल्ला संयोजक पानीराज बम्जनलाई लक्षित गरेर “ कमरेड, राते ! ! ! तिम्रो हत्या गर्ने तिम्रो सुराकी मेरो नेता छ माफ गर ! ! !” आफ्नो फेसबुक पेजमा लेख्नुभएको थियो ।
पार्टी कार्यकर्तासँगको कमेन्ट सवाल जवाफमा उहाँले तोकेरै पानीराज बम्जन हत्यारा हो भनेर लेखेपछि माओवादी वृत्तमा हल्लाखल्ला भएको थियो । न्यौपाने उक्त कमेन्ट डिलिट गरे पनि पोष्ट शुक्रवार बिहान सम्म कायम थियो । त्यहाँ पाटी नेताहरूलाई आलोचना गरेर कमेन्ट दोहोरी चलेको थियो । इन्चार्ज माझीको विज्ञप्ति पछि उहाँले फेस्बुक पोष्ट पनि डिलिट गर्नु भएको छ ।
