शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सांसद दाहालमाथि खनिए एमाले सिन्धुलीका नेताहरु

सोमवार , भाद्र १०, २०८१

सिन्धुली – सिन्धुलीको क्षेत्र नम्बर २ बाट संघीय सांसदमा निर्वाचित लेखनाथ दाहाल ‘राजन’ विरुद्ध नेकपा एमाले सिन्धुलीका नेताहरु आक्रोशित बनेका छन् । नेकपा माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय भवन निर्माण गर्दा आर्थिक अनियमितता र भ्रष्टाचार गरेको आरोप सतहमा आएपछि सांसद दाहालले एमालेविरुद्ध विष बमन गरेको भन्दै एमालेका जिल्ला नेता उहाँमाथि खनिएका हुन् ।

नेकपा विभाजनपछि एमालेको पार्टी कार्यालयमा माओवादी केन्द्रको सामाग्री लिन जाँदा एमालेका जिल्ला नेताहरुले अढाई वर्षको भाडा तिरेपछि मात्र सामाग्री लग्न दिने भनेको कुरा राजनले सार्वजनिक रुपमा बताएपछि यहाँका एमाले नेताहरुले विरोध गरेका छन् । “एमालेका नेताले भाडा मागेपछि आवेसमा आएर तपाईँहरुको भन्दा राम्रो पार्टी कार्यालय बनाएर बस्छु”, राजनले भन्नुभएको छ । स्मरणिय छ, २०७५ जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । नेकपा सिन्धुलीको अध्यक्षमा राजन चयन हुनुभएको थियो भने एमालेको पार्टी कार्यालयलाई नेकपाको पार्टी कार्यालय बनाइएको थियो । एमाले र माओवादीबिचको एकता २९ महिनापनि टिक्न सकेन र २०७७ पुष ७ गते नेकपा दुई पार्टीमा विभाजित भयो ।

कस्ले के भने ?

नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले राजनले पार्टी कार्यलय बनाउदा व्यापक आर्थिक अनियमिता गरेको प्रसंग सार्बजनिक भएपछि मिडियामा असन्तुलित अभिव्यक्ति दिएको आरोप लगाउनुभएको छ । माओवादी केन्द्र सिन्धुलीको पुर्वइन्चार्ज समेत रहनुभएका राजनले भने अनुसार नेकपा हुँदा एमाले सिन्धुलीले भाडा मागेको विषयको खण्डन गर्दै कपोकल्पित र झुटो आरोप भएको बताउनुभयो । सामाजि संजालमा लेख्दै श्रेष्ठले भन्नुभएको छ, “शुसासन र आर्थिक अनियमिताको विषय उठाउदैँ सामाजिक संजालमा अरु पार्टीलाई गाली गरेर नथाक्ने चोथालेको परिचय बनाएका दाहालले अन्य पार्टी र नेतृत्वलाई सामाजिक संजालमा गालीगलोज गर्ने कुरामा पछि पार्दै जितेका छन् । तर, सुसंस्कृत संस्कार अरुबाट सिकेका छैनन् ।” अध्यक्ष श्रेष्ठले सुसंस्कृत राजनीतिले मात्र माननीयको मर्यादा जोगाउने सुझाव राजनलाई दिनुभएको छ । आफ्नै पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुले राजनको अनुहारमा हिलो छ्यापेको श्रेष्ठले बताउनुभयो । उहाँले राजनलाई सुझाव दिदैँ भन्नुभयो, “हिलो छिटै पुछपाछ पार्नुस्, लागेको आरोप मेटाउनुस् र तपाईँकै आफ्नो कार्यक्षेत्र सामाजिक संजालमा एमालेलाई गाली गर्दै आरोप लगाउन नआउनुस्, शुभकामना ।” सिरक ओढेर घिउ खाएको कथा सबै नेपालीहरुले सुनेको समेत श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले इटको जवाफ पत्थरले दिने भन्दै चेतावनी सहितको जवाफ दिनुभएको छ । पार्टी कार्यालय निर्माणका क्रममा आफूमाथि लागेको अनियमितताको आरोपको जवाफ दिने क्रममा राजनले छट्पटाएर एमाले र तत्कालिन नेतृत्वका विरुद्ध विष बमन गरेको बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली बिरुद्ध अनेक षडयन्त्र गर्दे तुच्छ शैलीमा अभिव्यक्ति दिने राजनको सक्कली हैसियत उनकै पार्टी कमिटीले तल्लो तहमा पठाएको सर्कुलर पढेर बुझ्न सकिने घिसिङले बताउनुभयो । पार्टीको कार्यालय निर्माणमा राजनले गरेको आर्थिक अनियमितताप्रति एमालेले कुनै प्रतिक्रिया नभएको बताउदैँ आफ्ना कमी कमजोरी छोप्ने नाममा एमाले र नेतृत्वप्रति गरेको विष बमनले आफूहरु बोल्न बाध्य भएको बताउनुभयो । सामाजि संजालमा फेसबुकमा लेख्दै घिसिङले भन्नुभएको छ, “तत्कालिन नेकपा निर्माणका क्रममा उनी जिल्ला अध्यक्ष थिए । उनी नेकपाको अध्यक्ष रहँदा एउटा थोत्रे सोफा र डिस्पेन्सर मात्रै हाम्रो कार्यालयमा लिएर आएका थिए । त्यही सामाग्री लिएर आएका उनले हाम्रो पार्टी कार्यालय कब्जा गर्न अनेकौं षडयन्त्र गरेपनि त्यसलाई हामीले असफल बनाइदिएका थियौंँ ।

पार्टी कार्यालय कब्जा गर्न हुँदै नभएको पार्टी सदस्यताको संख्या लिएर आएका उनलाई पार्टी विभाजन पछि मैले नै त्यो सोफा र डिस्पेन्सर लिएर जानुस् भनेकै हो । तर उनले लगेनन् ।” आफूमाथि लागेको लाखौं अनियमिताको आरोप छोप्न राजनले एमाले विरुद्ध दिएको अभिव्यक्ति हाँस्यास्पद र खेदजनक रहेको घिसिङले बताउनुभएको छ । उहाँले पार्टी र नेतृत्वका विरुद्ध अफबाह फैलाउने कार्य तत्काल बन्द गर्न आग्रह गर्नुभयो । अन्यथा, आफुहरुले इटको जवाफ पत्थरले दिने अबस्था आउन सक्ने उपाध्यक्ष घिसिङले बताउनुभएको छ ।

प्रतिक्रिया