शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ भदौ ०८ गते शनिबारको राशिफल र मौसम

शनिवार , भाद्र ८, २०८१

बि.सं.२०८१ भदौ ०८ गते शनिबार ई.सं.२०२४ अगस्त २४ नेपाल सम्बत ११४४ गुंलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण पञ्चमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, गण्ड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३९ बजे, सूर्यास्त साँझ ०५: ३२ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १५ मिनेट देखि ०८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। केही सहयोगीहरू पनि भेटिनेछन्। तर धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :– समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ–सहयोग पाइनेछ। आसलाग्दाे काम राेकिनाले चिताएकाे फाइदा नहुन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। समयमा गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नाे क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। दाम्पत्य सुमधुर रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :– समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। नयाँ काममा हतार नगर्नुहोला। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :– हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम सुरु गर्न पनि सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। नहुने काममा बलजफ्ती प्रयत्न गर्दा नयाँखाले समस्या आउन सक्छन्। बुद्धिकाे उपयाेग तथा सावधानीले समस्याबाट बच्न सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्न सकिनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसा हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सबै प्रदेशरूका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया