शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२०८१ भदौ ०४ गते मंगलबारको राशिफल र मौसम

मंगलवार , भाद्र ४, २०८१

बि.सं.२०८१ भदौ ०४ गते मंगलबार ई.सं.२०२४ अगस्त २० नेपाल सम्बत ११४४ गुंलागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, भदौ कृष्ण प्रतिपदा, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, अतिगंड योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३७ बजे, सूर्यास्त साँझ ०५: ३६ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान १० बजेर २९ मिनेट देखि १२ बजेर ०६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :– कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। समयमा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। आँटेको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। तर, काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। चिताएको काम समयमा सम्पादन नहोला। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा दिएको वचनले आफैँलाई अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :– सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :– मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

यस्तो छ आजको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया