बि.सं.२०८१ भदौ ०१ गते शनिबार ई.सं.२०२४ अगस्त १७ नेपाल सम्बत ११४४ गुंलाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल त्रयोदशी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, प्रीति योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३५ बजे, सूर्यास्त साँझ ०६: ४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १३ मिनेट देखि ०८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने शुभचिन्तकहरूले पनि साथ दिनेनेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :– परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्नेछ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला। अप्ठ्यारो परिस्थितिमा पनि केही काम भने बन्नेछन्। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनाले जिम्मेवारी हातलाग्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– परिवेश उल्लासमय रहे पनि जीवनशैली अस्तव्यस्त रहनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा आफन्तको साथ जुट्नेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझदेखि भने अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्दा सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। साँझदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। साँझतिर प्रतिस्पर्धीहरू पछि हट्नाले कामको अवरोध पनि हट्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा साँझदेखि लाभ मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि ठूलो काम बन्न सक्छ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त हुनाले कामको बाधा समाप्त हुनेछ। साँझतिर घर-गृहस्थी रमाइलो रहनेछ। विश्वास गरेका व्यक्तिबाट भने धोका हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। साँझदेखि अरूको भरपर्दा काम बिग्रन सक्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :– मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साँझतिर धनलाभ हुने योग छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :– बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ भने रमाइलो भेटघाटमा मन रमाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। साँझतिर खर्च बढे पनि प्रयत्न गर्दा अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयाेग देखिन्छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्
यस्तो छ आजको मौसम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको ।
आज दिउँसोː देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज रातीː देशभर आन्शिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।