शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एसईई नतिजामा परीक्षा बाेर्डकाे गम्भीर लापर्वाही 

बुधवार , श्रावण १६, २०८१

काठमाडौँ,१६ साउन - राष्ट्रिय परीक्षा बोर्डको लापर्वाहीले हरेक वर्षझैँ यस वर्ष पनि हजारौँ विद्यार्थीको नतिजा ननग्रेडेड आयो । अर्थात्, उनीहरू फेल भए । पुनर्योग गर्न पाउने कानुनी व्यवस्थाअनुसार आवेदन दिँदा फेल भए भनिएका विद्यार्थीको नतिजा ए प्लससम्म आएको छ । सिम्बल नम्बर ०२८०२८९८ अल्फाबेट टी भएका विद्यार्थीको २.८ जीपीए आएको थियो । अंक चित्त नबुझेर रिटोटलिङ गर्दा ४.० जीपीए आएको छ । त्यस्तै, एनजी आएको ०४२०१८७५ अल्फाबेट ओ भएका विद्यार्थीको रिटोटलिङ गर्दा ३.६ जीपीए आएको छ । अर्का एनजी आएका ०२२०१५८७ अल्फाबेट के विद्यार्थीको जीपीए ४.० अर्थात् ए प्लस आयो ।

यी त उदाहरण मात्र हुन्, राष्ट्रिय परीक्षा बोर्डले गत १३ असारमा सार्वजनिक गरेको एसईईको नतिजा चित्त नबुझेर पुनर्योग गर्ने मात्र १९ हजार ६ सय छन् । बोर्डले सार्वजनिक गरेको नतिजामा एनजी आएका अधिकांश विद्यार्थीको नतिजा बी प्लस वा ए प्लस नै आएको छ । राष्ट्रिय परीक्षा बोर्डको लापर्वाहीले गर्दा हजारौँ विद्यार्थी फेल अर्थात् ननग्रेडेड भएर बस्नुपर्‍यो ।

बोर्डले नतिजा सार्वजनिकपछि सूचना निकालिएको १५ दिनभित्र पुनर्योगका लागि अनलाइन आवेदन दिनुपर्ने भनेको थियो । सोहीअनुसार आवेदन परेका १९ हजार ६ सयमध्ये १६ हजार २ सय ४१ जनाको उत्तरपुस्तिका जाँच गर्दा ७५४ जनाको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ । ‘विद्यार्थीले प्राप्तांक अंक मार्कस्लिपमा चढाउँदा गलत पर्न गएकाले केही त्रुटि भएका छन्,’ राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘८०, ८१, ९०, ९१ ल्याएकाको अंक कम्प्युरमा चढाउने बेलामा टाइपिङ मिस्टेक भई ०८, १८, ०९, १९ भएको पनि देखियो ।’

पुनर्योग गर्दा काठमाडौंको विश्व निकेतन माविबाट ४ जीपीए ल्याउने एक विद्यार्थी थपिएका छन् । एसईई नतिजा सार्वजनिक हुँदा ३.९५ आएको विभव ढकालको पुनर्योग गर्दा ४ जीपीए आएसँगै विश्वनिकेतनबाट ४ जीपीए ल्याउने विद्यार्थी संख्या ५ पुगेको प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।

बोर्डका परीक्षा नियन्त्रक पौडेलका अनुसार धेरै त्रुटि हुनेमा उत्तरपुस्तिका जाँचेपछि नम्बर जोड्दा, कम्प्युटरमा नम्बर इन्ट्री गर्दा, उत्तरपुस्तिकाबाहिर नम्बर लेख्दा, मार्कस्लिपमा चढाउँदा, केही टाइपिङ गर्दा अंक फरक परेको बताए । उनले भने, ‘केही त उत्तरपुस्तिका परीक्षण गर्दा नै त्रुटि देखिएका पनि छन् ।’ विद्यार्थीले फारम भर्दा गलत भर्ने, एउटामा फारम भर्ने अर्कोको परीक्षा दिने, नाम, सिम्बोल नम्बर गलत लेख्दा उत्तरपुस्तिकामा प्रश्न नम्बर नलेख्दा पनि नतिजा विद्यार्थीले सोचेअनुरुप नआउने र त्रुटि हुन जाने बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

पुनर्योगको नतिजा सार्वजनिक भएसँगै यसअघिको नतिजामा लापर्वाही पाइएपछि शिक्षा मन्त्रालयले बोर्डका पदाधिकारीसँग बैठक राखेको थियो । शिक्षामन्त्री विद्या भट्टराईले आफ्ना कमजोरी पहिचान गर्न बोर्डलाई निर्देशन दिइसकेकी छन् । चोकिङ गर्दादेखि पोस्टिङ र इन्ट्री गर्दासम्म समस्या देखिकाले पूरक परीक्षा सकिएपछि परीक्षा बोर्डसँग बैठक बस्ने उनले बताइन् । ‘कसको कमजोरीले गर्दा विद्यार्थीको नतिजामा लापर्वाही भएको हो ? यसबारे पत्ता लगाउन निर्देशन दिइसकेको छ । कारबाही गर्नुपर्ने अवस्थामा सम्बन्धित निकाय वा व्यक्तिलाई कारबाही हुन्छ,’ उनले भनिन् ।

विद्यार्थीको भविष्यसँग जोडिएको यस विषयमा राष्ट्रिय परीक्षा बोर्ड भने सामान्य विषय भन्दै पन्छिएको छ । बोर्डका परीक्षा नियन्त्रक पौडेलले भने, ‘लोक सेवा परीक्षाजस्तो एउटै कापीको ५ हजार दिएर जाँच्न लगाउने स्रोत छैन हामीसँग । २५ देखि ४० रुपैयाँसम्म दिएर जाँच्न लगाउनुपर्ने हुन्छ । हतारमा काम गर्दा बिग्रिने हुन्छ ।’

कानुनी प्रक्रियाले पुनर्योग पाउँछ भनेर नै विद्याथीहरू चेक गर्न आएको उनले बताए । पौडेलले भने, ‘विद्यार्थीहरू केहीले आफ्नो गल्ती महसुस गर्छन् भने केही बाआमालाई ढाँट्न पनि आएका हुन्छन् । आफ्नो क्षमता नहेरी पुनर्योग पाइन्छ भनेर पनि आएका छन् । सबैका अलगअलग विचार छन् । ३५ लाख कापी जाँच्दा केही त्रुटि हुनु सामान्य हो ।’

प्रतिक्रिया