सिन्धुली – उच्च अदालत पाटनले दुधौली स्पोर्टस् क्लबलाई मान्यता नदिनुको कारण देखाउन जिल्ला फुटबल संघ, सिन्धुलीलाई आदेश दिएको छ । जिल्ला फुटबल संघले गत वैशाख २० गते संघले दुधौली स्पोर्टस क्लबलाइ कार्वाही गर्ने निर्णयय गरेको थियो ।

उक्त निर्णय विरुद्ध दुधौली स्पोर्टस क्लबले उच्च अदालतमा उप्रेषणको रिट दायर गरेको थियो । उक्त रिटमा अदालतले जेठ १ गते कारण देखाउ आदेश जारी र अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको छ । न्यायाधीश ध्रुवराज चन्दको इजलासले १५ दिन भित्र आफैँ वा कानुन बमोजिमको पतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो । आगामी जेठ ८ गते मंगलबारको दिन छलफल पेशी राखिएको छ ।
के हो घट्ना ?
गत वैशाख २० गते जिल्ला फुटबल संघ, सिन्धुलीको कार्यसमितिको बैठकले दुधौली स्पोर्टस क्लबलाई पाँच वर्षको लागि प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । उक्त क्लबबाट सामाजिक संजालमा अखिल नेपाल फुटबल संघ (एन्फा) र सिन्धुली जिल्ला फुटब संघ तथा पदाधिकारीहरुलाई गालिगलौच र मानमर्दन गरेको भन्दै प्रतिबन्ध लगाउने निर्र्णय गरेको थियो । उक्त क्लबलाई स्पष्टिकरणको लागि पत्राचार गर्दा समेत वेवास्था गरेको भन्दै एन्फा तथा जिल्ला फुटबल संघले संचालन गर्ने फुटबल प्रतियोगितामा पाँच वर्ष सम्मको लागि प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

दुधौली स्पोर्टस् क्लब जिल्लाकै सक्रिय क्लबका रुपमा स्थापित छ । व्यवसायिक प्रतियोगितामा सहभागिता जनाउदैँ उक्त क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको छ ।