सिन्धुली – जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधिकालकागि ब्लु अल्पाइन र नमूना जन उत्थानबिच प्रतिस्पर्धा हुने भएको छ ।
जिल्लामा जारी फुटबल प्रतियोगिताको फाइनल खेलमा बिहिबार (आज) कमलामाई नगरपालिकाको ब्लु अल्पाइन क्लब, सिन्धुली र दुधौली नगरपालिकाको नमूना जनउत्थान, डकाहाबिच दिउसो ३ बजे भिडन्त हुने भएको हो ।
बुधवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ६ र ब्लु अल्पाइन क्लव सिन्धुली बिच भएको प्रतिष्पर्धामा दुवै टोलिले १÷१ गोल गरेपछि पेनाल्टी सुटआउटमा ब्लु अल्पाइन क्लबले ४—२ गोल गोलको अन्तरले वडा नम्बर ६ लाई पराजित गरेको थियो । त्यस्तै, दोश्रो सेमिफाइनल खेलमा नमूना जनउत्थान डकाहा र जनहितैसि युवा क्लब मरिण बिच कडा प्रतिष्पर्धा भएको थियो । दुवै टिमले खेल समय अवधिभर गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट बिजेता चयन गरिएको थियो । जसमा जनउत्थान डकाहाले जनहितैसि युवा क्लब मरिणलाई १०÷९ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
फुटबल संघ सिन्धुलीको आयोजनामा वैशाख २७ गतेबाट जिल्ला लिग फुटबल प्रतियोगिता भइरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिकाअनुसार भइरहेको प्रतियोगितामा जिल्लाका कूल ८ वटा टिमको सहभागिता रहेको छ ।
जिल्ला लिगको विजेतालाई ५० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने जिल्ला लिगबाट छनोट टिमले बागमती प्रदेश लिग फुटबल प्रतियोगिता खेल्न पाउने छ ।