शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको भाउ इतिहासकै उच्च विन्दुमा पुगेर स्थिर, चाँदी बढ्यो

आइतवार , बैशाख ९, २०८१

काठमाडौं ,०९ बैशाख - सुनको भाउ इतिहासकै उच्च विन्दुमा पुगेर स्थिर भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (वैशाख ९ गते) आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ रहेको छ ।

यसअघि शुक्रबार (वैशाख ७ गते) सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । आज पनि सोही मूल्यमा कारोबार भएको हो । पछिल्लो समय सुनको भाउ बढ्नुमा अमेरिकी डलरको मजबुतीलाई पनि कारण मानिएको छ । डलर बलियो भएसँगै विश्व बजारमा सुनको भाउसमेत उकालो लागेको विश्लेषकहरुले बताइरहेका छन् ।

आइतबार, आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १७ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय २० रुपैयाँका कारोबार भएकोे थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३९०.७५ डलर र चाँदी प्रतिऔंस २८.६७ डलरमा कारोबार भइरहेको छ ।

यस्तै, अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै पनि विश्व बजारमा सुनको मूल्य थप चुलिएको हो । ब्याजदर कटौतीपछि निक्षेपकर्ताहरुसमेत सुनमा धेरै फाइदा हुने अनुमान गरिरहेका छन् । सुनको भाउ बढ्नुमा मध्यपूर्वमा चर्किएको द्वन्ध पनि हो । इजरायल र हमासको युद्ध चल्दै गर्दा यता, इरानलेपनि इजरायलमा हमला गरेको छ । जसले गर्दा द्वन्ध झनै चर्किने आंकलन गरिएको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले आफ्नो लगानीलाई सुनमा सुरक्षित मानेर लगानी गर्ने गर्छन् । जसले गर्दा माग बढेसँगै भाउ पनि बढेको हो ।

 

प्रतिक्रिया