शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड

आइतवार , चैत्र २५, २०८०

काठमाडौं ,२५ चैत – सुनको भाउले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थिायो । सो दिन छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो । पछिल्लो समय सुनको भाउ बढ्नुमा अमेरिकी डलरको मजबुतीलाई पनि मुख्य कारण मानिएको छ । डलर बलियो भएसँगै विश्व बजारमा सुनको भाउसमेत उकालो लागेको विश्लेषकहरु बताउँछन् ।

सुनचाँदी व्यवसायीका अनुसार अमेरिकी रिजर्भ बैंकले लिएको नीतिले पनि सुनको मूल्य बढेको छ । पछिल्ला दिनहरुमा चीनले सुनमा व्यापक लगानी वृद्धि गरेको छ । यसले पनि मूल्य वृद्धि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै, विश्व बजारमा द्वन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि सुनको मूल्यमा वृद्धि देखिएको विभिन्न रिसर्च संस्था र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको व्यवसायीहरु बताउँछन् । त्यस्तै, चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । यसअघि शुक्रबार चाँदी प्रतितोला एक हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य एकै दिन ५५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया