शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सौखिन ‘लिटिल बुद्ध’ : रामबहादुर बम्जन सार्वजनिक

बुधवार , पौष २५, २०८०

काठमाडौँ - ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो ।

मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनलाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो । उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ ।

बम्जन पक्राउ पर्दाको विवरण र बरामद भएका सामानहरूबारे जानकारी दिइयो। सर्लाही जिल्ला अदालतबाट बालयौन दुराचार र बलात्कार मुद्दामा उनीविरुद्ध २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो।

अदालतको आदेशअनुसार प्रहरीले ‘लिटिल बुद्ध’ भनेर चिनिने बम्जनको खोजी जारी राखेको थियो। त्यसबीचमा उनीविरुद्ध अन्य जिल्लामा पनि बेपत्ता र बलात्कारको उजुरी दायर भइरहेको थियो।

त्यस क्रममा प्रहरीले मंगलबार विशेष सूचनाका आधारमा काठमाडौंको बुढानीलकण्ठ-६ टनगाउँस्थित उनको घरबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रहरी आएको थाहा पाएपछि उनी घरको चौथो तलामा रहेको दक्षिणको झ्यालबाट भिरालो जमिनमा हामफालेर भाग्न खोजेका थिए। सोही क्रममा उनी पक्राउ परेका हुन्।

प्रहरीले उनको निवासबाट १४ थान मोबाइल, २० थान पेनड्राइभ, ३ थान मोटरसाइकलको बिलबुक, टोयटा हाइलक्स गाडीको चावी, भ्वाइस रेकर्डर, २ थान मेमोरी कार्ड, २ थान ल्यापटप, ५ थान आइप्याड र अन्य विभिन्न कागजात पनि प्रहरीले बरामद गरेको छ।

अनुसन्धानकै क्रममा प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुला राम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी प्रयोग गर्ने गरेको तथ्य खुलेको प्रवक्ता अधिकारीले बताए।

यस्तै बम्जनको प्रयोगका लागि ललितपुर बौद्ध श्रवन धर्म संघका अध्यक्ष पनित महर्जनको नाममा पाँच करोडमा सेतो रङको ल्यान्ड क्रुजर जेडएक्स गाडी बुक भएकोमा तीन करोड भुक्तानी भई खरिदको क्रममा रहेको खुल्न आएको छ।

बम्जनले क्रसफायर बाइक, केटीएम ड्युक बाइक, यामाहा रे जेडआर स्कुटर समेत चारवटा मोटरसाइकल र स्कुटर प्रयोग गर्ने गरेको प्रवक्ता अधिकारीले बताए।

प्रहरीले बम्जनको आश्रमबाट विभिन्न समयमा बेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको र त्यसलाई अझ तीव्रता दिनेसमेत बताएको छ।

अधिकारीका अनुसार बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा उपस्थित गराएर म्याद थपिनेसमेत बताए।

प्रतिक्रिया