काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।
हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको पुष्टि गर्नुभयो । त्यस्तै उहाँले सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताउनुभयो ।
“नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर गरिसकेका छौँ । आक्रमण जारी रहेकाले विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेका छौँ । विद्यार्थीहरूसँग नियमित सम्पर्क भइराखेको छ,” उहाँले भन्नुभयो ।
विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको समेत उहाँले बताउनुभयो । “१७ जना कृषि फार्मको आवासभित्र छन् । उनीहरू बसेको घरबाहिर हतियारधारी हमासको समूहले घेरा हालेर राखेको छ,” राजदूत रिजालले भन्नुभयो । आफूहरू पनि कर्फ्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
सम्पर्कमा आएका एक जना नेपाली विद्यार्थी आफू आक्रमणमा परी घाइते भएको र उपचारको पर्खाइमा रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले समस्यामा परेका नेपालीलाई दूतावास र संघको सम्पर्कमा आउन आग्रह गरिएका बताउनुभयो । संघले शनिबार एक सूचना जारी गर्दै इजरायली सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ ।