शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता हुने

आइतवार , आश्विन १४, २०८०

सिन्धुली, सिन्धुलीको मरिण गाउँपालिकामा तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा कार्तिक १३ गतेबाट प्रतियोगिता हुन लागेको हो । माझी समुदायका युवा खेलाडीहरुको क्षमता विकासको लागि प्रतियोगिताको आयोजना गरिएको आज सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरेर नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीले जनाएको छ ।

प्रतियोगितामा सिन्धुली सहित देशभरका २५ जिल्लाका माझी समुदायका युवा खेलाडीहरुले सहभागीता रहनेछ । प्रतियोगिताको विजेता समुहले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र, प्राप्त गर्ने नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले बताउनुभयो । उप विजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र र तेस्रो हुने समुहलाई ६६ हजार ६ सय ६६ रुपैया नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र दिइने अध्यक्ष माझीले जानकारी दिनु भयो ।

प्रतियोगिता संचालनको लागि करिव ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान रहेको अध्यक्ष माझीले बताउनुभयो । दर्ता शुल्क, माझी समुदायसँग सम्बन्धित संघसंस्था र जिल्लाका विभिन्न पालिकाहरुसँग आर्थिक सहयोग संकलन गरेर प्रतियोगिता सम्पन्न गर्ने योजना रहेको अध्यक्ष माझीको भनाई छ । जिल्लाका केही पालिकाहरुले प्रतियोगिताका लागि बजेट छुट्याएर सम्झौता नै गरी सकिएको र केही स्थानिय तहहरुमा छलफल भईरहेको अध्यक्ष माझीले बताउनुभयो ।

प्रतियोगिताका खेलहरु मरिण गाउँपालिका वडा न ७ बाह्रविसेको खेल मैदान र हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ बोटेनिको खेलमैदानमा आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन आगामी असोज २५ गते भित्र समुह दर्ता गरी सक्नुपर्ने जनाइएको छ ।

फुटबल खेलले देशभर छरिएर रहेका माझी समुदायलाई एकआपसमा नजिक बनाउने र माझी समुदायका युवाहरुको खेल क्षमता पनि बढ्ने विश्वास लिएको अध्यक्ष माझीले बताउनुभयो । नेपाल माझी उत्थान संघको आयोजनामा पहिलो पटक मकवानपुर जिल्लामा दोस्रो पटक रामेछाप जिल्लामा रास्ट्रिय माझि गोल्डकप फुटबल प्रतियोगिता भइसकेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा माझी समुदायको जनसंख्या देशभरका ६३ जिल्लाका ३४३ स्थानिय तहमा १ लाख ११ हजार ३५२ रहेको अध्यक्ष माझीले बताउनुभयो । अध्यक्ष माझीका अनुसार सिन्धुलीमा सबैभन्दा बढी १० हजार ८७३ जना जनसंख्या रहेको छ ।

प्रतिक्रिया