सिन्धुली– नेपाली हिन्दु धमार्वलम्वीहरुको महान चाड दशैँ नजिकिएसँगै सिन्धुलीमा चाडपर्व लक्षित प्रतियोगिता आयोजनाकालागि तयारी शुरु भएको छ ।
विजयादशमी, दिपावली तथा छठको शुभ अवसरमा आगामी असोज ११ गतेदेखि १३ गतेसम्म भेटेरिनरी व्याडमिन्टन समूहले खुला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको समूहका सदस्य एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र सिन्धुलीका सहायक सूचना अधिकारी रुद्र जिरेल (सरोज) ले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधि जित्नेलाई भने अनौठो पुरस्कार रहेको छ । प्रतियोगिताको विजेतालाई एक जोडि कालिज पुरस्कार दिइने समुहका सदस्य विमल श्रेष्ठले बताउनुभयो । त्यस्तै, उपविजेतालाई एक जोडि भाले कुखुरा र तृतिय पुरस्कार एक जोडि हाँस राखिएको श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा समावेश हुनकालागि टिम दर्ताको अन्तिम मिति मंगलबार २ बजेसम्म रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
सोमबारसम्म २५ जना खेलाडीले टिम दर्ता गरिसकेको उहाँले बताउनुभयो । दर्ता शुल्क पाच सय रुपैँया रहेको श्रेष्ठले बताउनुभयो । त्यसैगरि, ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ नारासहित आगामी असोज १९ गतेदेखि २० गतेसम्म जिल्ला व्याडमिन्टन संघले जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगितां आयोजन गर्दैछ । प्रतियोगिता अन्तर्गत पुरुष डबल (ए लेभल), पुरुष डबल (बि लेभल), ४५ वर्ष उमेर माथिका भेट्रान्स डबल र पुरुषतर्फ गाउँपालिका स्तरिय खेल हुने आयोजकले जनाएको छ ।
सबै खेलका विजेता, उपविजेता र तृतिय हुनेलाई सिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने पुरस्कार मूल्य भने फरकफरक रहेको छ । पुरुष डबल (ए लेभल) को विजेतालाई २० हजार, उपविजेतलाई १५ हजार र तृतिय हुनेलाई १० हजार रुपैँया पुरस्कार रहेको छ ।
त्यस्तै, पुरुष डबल (बि लेभल) तर्फ विजेतालाई १० हजार, उपविजेतलाई १० हजार र तृतिय हुनेलाई ५ हजार रुपैँया पुरस्कार दिइने छ । त्यसैगरि, ४५ वर्ष उमेर माथिका भेट्रान्स डबलको विजेतालाई १५ हजार, उपपविजेतालाई १० हजार र तृतिय हुनेलाई पाँच हजार रुपैँया पुरस्कारको व्यवस्था गरिएको छ । गाउँपालिका स्तरिय पुरुष डबलतर्फ विेजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतिय हुनेलाई पाँच हजार रुपैँयाको पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । दर्ता शुल्क भने पाँच सहय रहेको छ । प्रतियोगिता कमलामाई नगरपालिका ६ अन्तर्गत शिवनगर स्थित कभर्डहलमा हुने आयोजकले बताएको छ ।