शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

जिममा सिन्धुलीका युवायुवतीको आकर्षण बढ्दो

आइतवार , भाद्र २४, २०८०

सिन्धुली – जिममा सिन्धुलीका युवापुस्ताको आकर्षण ह्वात्तै बढेको छ । पछिल्लो समय जिल्लामा सुविधासम्पन्न जिम हल संचालनमा आएपछि यहाँका युवापुस्ता जिममा आकर्षित भएका हुन् । विशेषगरी, जाडोभन्दा गर्मीयाममा जिमखाना जाने बढी हुन्छन् । कारण– जाडो महिनाको तुलनामा गर्मीमा धेरै पसिना आउने र यसले शरीरलाई फुर्तिलो र स्वस्थ्य बनाउने भएकाले गर्मी महिनामा युवायुवती जिममा बढी समय दिने गर्छन् ।

पछिल्लो समय पुरुषहरु मात्रै होइन महिलाहरु पनि आकर्षित हुँदै गएको देख्न सकिन्छ । शरीर आकर्षक बनाउन र मोटोपन घटाउन जिल्लामा हिजोआज जिम गर्ने युवायुवतिको संख्या निकै बढ्दो छ । के पुरुष, के महिला अचेल सबैजना आकर्षक शरीर बनाउने होडमा जिम जाने गर्छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ कि १८ वर्षिय अनिता खड्काले जिम धाउन लागेको पाँच महिना पुग्न लाग्यो । शरीरको तौल घटाउन होस् वा सुडौल बनाउन, शारीरिक तन्दुरुस्तीका लागि होस् वा सिक्स प्याक निकाल्न, जिम धाउने साथीहरुको संख्या बढेको खड्का बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जिमले फ्रेस बनाउनुका साथसाथै समग्र शारीरिक, मानसिक स्वास्थ्य राम्रो बनाउने भएकाले जिममा रमाउने गरेको छु ।”

जिल्लाको कमलामाई नगरपालिका ६ का पर्वत थापाले जिम धाउन लागेको झण्डै छ महिना बढि भयो । मर्दाना शरिर रहेको थापा भन्नुहुन्छ, “जिम भन्नेबित्तिकै धेरैले तौल उचाल्ने र शरीरका विभिन्न भागको मसल फुलाउने काम भनेर बुझ्छन् । तर, जिम गर्नु भनेको शरीरको मांसपेशी ठूलो बनाउने काम मात्र होइन, फिट र तन्दुरुस्त रहनका लागि पनि जिममा विभिन्न व्यायाम गर्न सकिन्छ ।”

सिन्धुलीमा झण्डै आधा दर्जन जिमखाना संचालनमा रहेका छन् । विभिन्न उद्देश्य लिएर जिम गर्ने जमात अहिले जिल्लामा बढेको प्रयास होटलका संचालक सानु थापा बताउनुहुन्छ । प्रयास होटलमा रहेको जिम हलमा दैनिक ३० जना आउने गरेको थापाले बताउनुभयो ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित धुराबजारमा एक करोड बढि लगानीमा संचालनमा रहेको फिजिकल फिटनेशका संचालक खेम आलेका अनुसार पछिल्लो समय जिममा व्यायम गर्ने युवायुवतीको संख्या ह्वात्तै बढेको छ । उहाँले भन्नुभयो, “जिममा पुरुषसँगै महिलाहरुको संख्या पनि बढ्दै गएको छ ।” झण्डै २० जना महिला सहित ७० जनालाई दैनिक जिम सिकाउने गरेको उहाँले बताउनुभयो । जिममा भर्ना हुन चाहनेले प्रति महिना १५ सय रुपैँया तिर्नुपर्ने उहाँले बताउनुभयो ।

जिममा युवतीलाई आर्कषण गर्न जिम हाउसले धेरै मिहेनत गर्दै आएको प्रशिक्षक आले बताउनुहुन्छ । उहाँका अनुसार जिममा युवतीलाई प्रशिक्षकले गर्ने व्यवहार, भौतिक सुविधा, आर्थिक अवस्था र जिमको वातावरण मुख्य हो । महिला पुरुषलाई बरावर सोच्दै उनीहरुको आत्मसम्मान र सुरक्षामा विषेश ध्यान दिइएको उहाँले बताउनुभयो । उहाँले आफ्नो जिम हाउस महिलामैत्री वातावरण बनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाहरुलाई जिम सिकाउँदा गरिने व्यवहार नै बढी महत्वपुर्ण हुन्छ । जति बढी उनीहरु सुरक्षित महसुस गर्छन् त्यति उनीहरु जिममा आर्कषित हुन्छन् ।” स्वास्थ्य रहन जिममा आउनु धेरै फाइदा भएको र यसले दीर्घकालिन रुपमा मानिसलाई स्वस्थ्य राख्ने भएकाले प्रशिक्षक आले जिममा दैनिक २ घण्टा समय खर्चिन सबैलाई आग्रह गर्नुहुन्छ ।

प्रतिक्रिया