सिन्धुली – पुर्व पश्चिम महेन्द्र राजमार्ग स्थित धनुषाको गोदारबाट सिन्धुलीको मध्यपहाडी लोकमार्ग फिक्कल गाउँपालिका–२ नवलपुर जोड्ने ७२ किलोमिटर सडक स्तर उन्नती नहुँदा उपभोक्ताहरु हैरान ब्यहोर्न बाध्य हुने गरेका छन ।
तत्कालिन सडक डिभिजन कार्यालय, जिल्ला विकास समिती र गाउँ विकास समितिहरुको करौडौं लगानीमा २०७३ सालमै कच्ची सडकको ट्रयाक निर्माण कार्य सम्पनन् गरिएको थियो ।
पछिल्लो समय सडकको विभिन्न् खण्डमा निर्माण ब्यवसायी मार्फत सडकको स्तरउन्नीतको काम भईरहेको भएपनि दिगो हुन सकेको छैन ।
सिन्धुलीको निर्वाचन क्षेत्र नं.१ का हर्षाही, सिर्थौली, लाम्पान्टार, बाहुनतिल्पुङ्ग र पोखरी भएर सुनकोशीको किनारामा पुग्ने उक्त सडको ट्रयाक खोल्ने कार्य सम्पनन् भएपनि सडकको स्तरउन्नती नहुँदा असुरक्षित यात्रा गर्न बाध्य हुनुपरेको फिक्कल–२ का जय प्रसाद न्यौपानले बताउनुभयो
।
कच्ची सडकको निर्माणसँगै हिउँदो याममा त्यसक्षेत्रमा साना सवारी साधनहरु चल्न सुरु गरेपनि बर्षा याममा सवारी साधन चल्न सक्ने अवस्था छैन । निर्माणाधीन अवस्थामा रहेका विभिन्न् खण्डमा निक्कै जोखीमपूर्ण रुपमा साना सवारीहरु चल्ने गरेका छन ।
राज्यको निरन्तर लगानीमा कच्ची सडक खुले पछि स्थानीयहरुमा खुसी त छाएको छ तर त्यो खुसीलाई स्थायीत्व दिनका लागी सडकलाई पक्की र दिगो बनाउन आवश्यक रहेको स्थानीय जनप्रतिनिधीहरु बताउछन ।
फिक्कल गाउँपालिका–२ का वडा अध्यक्ष संकर भण्डारीले कच्ची सडक खुलेको भएपनि त्यसलाई दिगो रुपमा विकास गर्न सवैपक्ष जिम्मेवार बनेर लाग्नुपर्ने र जनतामा छाएको खुसीलाई स्थायीत्व दिनुपर्ने बताउनुभयो । उक्त सडकले त्यस क्षेत्रको राजनैतिक, आर्थिक तथा सामाजिक, सास्कृतिक विकासमा महत्वपूर्ण भुमीका निर्वाह गर्ने भण्डारीको भनाई छ ।
बाहुनतिल्पुङ्ग स्थानीय नेता बावुराम नेपाली भन्नुहुन्छ, “सडक त खुल्यो सवैमा खुसी छाएको छ तर यो खुसी बर्षायाममा त्यो खुसी खोसीन्छ ।” सडकलाई स्याथी सडकको रुपमा विकास गर्न सकेमा मात्र विकास हुन सक्ने नेपाली बताउछन । दिगो सोच र योजना बिना सडक बिस्तार गर्दा जिल्लाका ग्रामीण क्षेत्रका सडकहरु मौसमी सडकको रुपमा मात्र सिमित हुने गरेको अवस्था छ । त्यसैको परीणाम बर्षेनी लाखौं खर्च भएपनि दिगो सडक निर्माण हुन सकेको अवस्था देखिदैन ।