शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजदेखि मलमास अर्थात् पुरुषोत्तममास

मंगलवार , श्रावण २, २०८०

काठमाडौं २ साउन – मंगलबार मलमास अर्थात् पुरुषोत्तम मास शुरु हुँदैछ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।

के हो अधिकमास ?

चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ।

हाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक कार्यका लागि चान्द्रमानअनुसार शालिवाहनीय शाके।

वैशाख, जेठ आदि बाह्र महिना सूर्यको गति अनुसार चलिरहेको हुन्छ, जसलाई सौरमास भनिन्छ। सौरमासमा २९ देखि ३२ सम्मका दिन हुन्छन्। सौारमानअनुसार वर्षमा ३६५ दिन हुन्छ। शुक्लपक्षको प्रतिपदा (वा कृष्णपक्षको प्रतिपदादेखि कृष्णपक्षको औँसी वा शुक्लपक्षको पूर्णिमा) सम्मको अवधिलाई चान्द्रमास भनिन्छ।

चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्न २९ दिन १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्ड लाग्छ। चान्द्रमान अनुसार वर्षमा ३५४ दिन मात्र हुन्छ। यसरी एक वर्षमा सौरमास लगभग ११ दिनले बढी हुन्छ। सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ। सामान्यतय एउटा अधिकमासदेखि अर्को अधिकमासको दूरी २७ महिनादेखि ३३ महिना १६ दिन, एक घण्टा ३६ मिनेट पुगेपछि अधिकमास पर्छ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो। अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ।

एक महिनामा दुई औँसी

‘संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो’, अधिकारी भन्छन्, ‘एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ।’ यो पटक साउन २ र ३१ गते औँसी परेको छ। एकै महिनामा दुईवटा औँसी पर्नु वा दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिकमास हो।

यो समय गरिएका धार्मिक कार्यले फल दिँदैन भन्ने मान्यता छ। यो महिना भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गर्ने परम्परा रहेको धर्मशास्त्री डा. देवमणि भट्टराईले बताए।

यो अवधिमा काठमाडौंको मच्छेनारायण मन्दिरमा दर्शन गर्न जाने परम्परा छ। यहाँ महिनाभर मेला लाग्छ।

प्रतिक्रिया