शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

घ्याङलेख गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता

मंगलवार , चैत्र २८, २०७९

सिन्धुली, – सिन्धुलीको घ्याङलेख गाउँपालिकामा प्रथम अध्यक्ष कप फुटबल, भलिबल खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले एक कार्यक्रमका बिच उदघाटन गर्नुभएको हो ।

प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकरमान घनाले युवा खेलाडीहरुलाई उत्प्रेरित गर्न फुटबल र भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । गाउँपालिकाले फुटबल र भलिबललाई मात्र नभई अन्य खेललाई पनि उत्तिकै सम्मान गरेको र अन्य खेलहरु पनि आयोजना गर्दै जाने उहाँहरुको भनाई छ ।

घ्याङलेख गाउँपालिकाको आयोजनामा सोमवारदेखि सुरु भएको प्रतियोगिता चैत २९ गतेसम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडा र गाउँपालिकाको दुई गरी ८ टीमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फुटबल तर्फको विजेताले ४५ हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक घ्याङलेख गाउँपालिकाले जनाएको छ ।

भलिबल तर्फको विजेताले ३५ हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य सहित अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु गरिएको आयोजकको भनाई छ ।

सोमवार भएको उदघाटन खेलमा गाउँपालिकाको कर्मचारी समुहले जनप्रतिनिधिहरुको समुहलाई ३–० गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा घ्याङलेख गाउँपालिका वडा नं. ५ ले वडा नं. ४ (बि) लाई पराजित गरेको छ ।

त्यस्तै घ्याङलेख गाउँपालिका वडा नं. ४ (ए) ले वडा नं. १ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै घ्याङलेख गाउँपालिकाका वडा नं. ३ (बि)ले वडा नं. ३ (ए) लाई २–० गोलअन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया